‘कसैलाई रुवाउनु फिल्मको सफलता होईन यसको भ्रममा कोही परेको भए त्यसको तुक छैन । राम्रो लोकसेनमा खिच्दैमा फिल्म राम्रो हुन्छ भन्ने पनि छैन,’ नेपाली ‘चलेछ बतास सुस्तरी’ का लेखक तथा निर्माता प्रदिप भारद्वाजले निर्माता बनेर ‘चलेछ बतास सुस्तरी’को एक कार्यक्रममा बोलेको संवाद हो यो ।
अनौपचारिक कुराकानीमा पनि आफूसँग रिलिज हुने दुई फिल्मको नाडी छामिसकेको दाबी गर्दै आएका भारद्धाजले औपचारिक कार्यक्रममा पनि सोही तेवर जारी राख्दै ‘क्लासिक’ र ‘प्रेमगीत’लाई घुमाउरो पाराले दुवै फिल्ममा दम नै नभएको बताए ।
‘चलेछ बतास सुस्तरी’को ट्रेलर तथा गीत सार्वजनिक गर्न राईजिङ मल दरबारमार्गमा आयोजित कार्यक्रममा कथाकार तथा निर्माता भारद्वाजले आफूलाई ब्यापारी नभई सर्जकको रुपमा लिईदिन मिडियामाझ आग्रह गरे । करिब १० मिनेट धारा प्रवाह बोलेका भारद्धाजले ‘प्रचारले मात्र हुने भए ‘बागमती’ हिट हुन्थ्यो भन्दै ‘क्लासिक’ र ‘प्रेमगीत’को प्रचारमाथि पनि व्यंग्य कसे ।
माघ २९ गते ‘चलेछ बतास सुस्तरी’सँगै ‘क्लासिक’ र ‘प्रेमगीत’ पनि रिलिज हुँदैछन् । पत्रकारले जानी जानी किन जुध्न आएको भन्ने प्रश्नमा आफ्ना पूर्व मित्रहरुले आफ्नो प्रचार प्रसार फ्रिमा गरिरहेको भएकाले सोही मितिमा आफू पनि मैदानमा आएको उनको दाबी थियो ।‘साथीहरुले दिल खोलेर मेरो फिल्मको पनि प्रचार गर्नुभएको छ । अरु डेटमा गरेको भए मैंले यसको फाइदा पाउँदिनथें । उहाँहरुकै कारण मेरो प्रचार खर्च बचेको छ, भारद्वाजले भने ।
त्यस्तै अभिनेता प्रमोद भारद्वाजले पनि एक्को दौडमा कोही पहिलो दोस्रो नहुने भन्दै प्रतिस्पर्धीबीचको भिडन्तले नै बिजेता छुट्याउने भन्दै तीन फिल्मको भिडन्तलाई सकारात्मक लिए । दुई महिला निर्देशक सबु सुवेदी र अनिला खड्काले मिलेर निर्देशन गरेको फिल्ममा प्रमोद र शुष्मा कार्की लिड रोलमा छन् । कार्यक्रममा बितरक सुनिल मानन्धरले तीन फिल्मको भिडन्तमा यो फिल्मलाई सके पहिलो नत्र दोश्रो बनाई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
हेर्नुस् फिल्मको ट्रेलर

