सोमबार दिउँसो करिब ४ बजेतिर नेपाली फिल्म ’ड्रिम्स’को ट्रेलर युट्युवमा आयो । युवा स्टार अनमोल केसीको नयाँ फिल्मको ट्रेलर कतिबेला आउला भनेर पर्खेर बसेका फ्यानहरु तथा पहिलो निर्देशनमा भुवन केसीले कस्तो फिल्म बनाए भनेर प्रतिक्षा गरेका शुभचिन्तकहरुको पर्खाईको घडी समाप्त भएको थियो हिजो ४ बजे ।
यो सँगै मिनेट पिच्छे हजारौं संख्यामा भिजिटर पाएको यो ट्रेलरले नेपाली फिल्ममा नयाँ किर्तिमानी राखेको छ । सार्वजनिक भएको २४ घण्टा नहुँदै ट्रेलर १ लाख बढी पटक भिजिट भएको छ । बिशेषतः अनमोल केसी अनि निर्देशक बनेका भुवनकै कारण ट्रेलरले रेकर्ड राक्न सफल भयो ।

सुटिङको समयदेखि चर्चामा रहेको यो फिल्मको सुरुवाती चर्चा र ट्रेलर प्रति नै देखिएको क्रेजले रिलिजपछि बिजनेश कस्तो गर्ला भन्ने कौतुहलता उब्जेको छ । फागुन २१ रिलिज फिल्म हिट बन्ने छाँट ट्रेलरको भिजिटरले देखाएकोमा दुई मत छैन् ।
ट्रेलर हेर्दै यसको बारेमा आएका प्रतिक्रियाहरुले स्वभाविक रुपमै अनमोल तथा भुवन उत्साहित भएको मान्न सकिन्छ । किनकी नेपाली फिल्मकै अहिलेसम्मको उच्च गुणस्तरको, हाई मेकिङ सहितको तथा गर्व गर्न लाएक भन्दै धेरैले फागुन २१ पर्खिन नै हतार भएको प्रतिक्रिया लेखेका छन् । फिल्ममा अनमोलसँगै साम्राज्ञीराज्यलक्ष्मी शाह र सन्ध्या केसी लिड रोलमा छन् ।
ट्रेलरको किर्तिमानी भिजिटको क्रेडिट अनमोलले आफ्ना दर्शकलाई दिएका छन् । उनले फिल्मीखबरसँग कुरा गर्दै भने, ‘ड्रिम्स टिमकै तर्फबाट सबैभन्दा पहिला हामी दर्शकलाई आभार व्यक्त गर्न चाहान्छौं । हाम्रो मेहनतले सार्थकता पाएको आभाष भएको छ,’ अनमोलले भने । त्यस्तै भुवन केसीले पनि ट्रेलरले जगाएको विश्वासलाई फिल्मले पूरा गर्ने वाचा गरे ।

