Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आमा घर`लाई आकाशको न्यानो लुगा

फिल्मीखबर, काठमाडौं, 2016/01/11

समाजसेवी दिलशोभा श्रेष्ठको रविभवनस्थित ‘आमा घर’ को संरक्षणमा रहेका वृद्ध आमाहरुलाई आकाश अधिकारीले ब्ल्याङ्केट हस्तान्तरण गरेका छन् । यी परोपकारी निर्देशक, निर्माता तथा अभिनेताले ‘आमा घर’ मा रहेका ३८ जनालाई पुग्ने जाडोको न्यानो ब्ल्याङकेट र म्याट प्रदान गरे ।


भूकम्प प्रभावितको सेवामा समेत खटेका आकाशले ‘आमा घर’ मा रहेका वृद्ध आमाहरुलाई ब्ल्याङ्केट आवश्यक रहेको भन्ने खबर आएपछि आफ्नो संस्थाले उक्त सेवा प्रदान गरेको बताए । उनले भने, ‘हाम्रो संस्थाका सदस्य आएर यहाँ अवलोकन गरेर उहाँहरुलाई ब्ल्याङ्केट आवश्यक रहेको पत्ता लगाएपछि हामी आएका हौं ।’

 

आमा घरको अवस्था नियालेपछि भावुक देखिएका आकाशले आगामी दिनमा पनि आफ्नो संस्थाले आवश्यक परेको खण्डमा सक्दो सहयोग गर्ने वचन दिए । उनीसँगै आमा घरमा उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘के म तिम्रो होइन र’ का निर्माता सुरेश अधिकारी, नायक आर्यन अधिकारी र नायिका मरिस्का मेरी पोखरेल सहभागी थिए ।


यता आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठले आकाशको संस्थाले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै भनिन्, ‘उहाँहरुको सहयोगले मलाई हौसला बढ्यो । म एक्लो छैन भन्ने जस्तो लाग्यो ।’ वृद्ध आमाहरु सहित बालबालिकालाई समेत संरक्षण दिइरहेकी दिलशोभाले अब बुवाहरुको लागि पनि सेवाको कार्य सुरु गर्ने खुलाइन् । उनले बुवाहरु बस्ने भवन निर्माण गर्न आवश्यक रकम जुटाउन सहयोगको अपिल गरिन् ।

 

रविभवनको जग्गामा भवन निर्माण गर्न झण्डै एक करोड लाग्न सक्ने इञ्जिनियरले बताएको र एक व्यक्तिबाट एक सय रुपैयाँ उठाउने अभियान समेत सुरु गर्ने योजना रहेको दिलशोभाले बताइन् ।

Most Visited News (monthly)