‘यदि अभिनेत्री केकी अधिकारीले पैसाकै लागि फिल्म बागमतीमा काम गरेकी हुन् भने उनले ठूलो गल्ती गरिन् ।’ काठमाण्डौमा आयोजित फिल्म बागमतीको विशेष शो हेरेर निस्किएका केही पत्रकार र फिल्मीकर्मीले यस्तो टिप्पणी गरे । फिल्मको एक गीतमा गीतार बजाउनु र त्यसपछि लास बनेर ट्रिपरमा रहनु भन्दा बढी काम फिल्म बागमतीमा केकीको छैन ।
केकीले फिल्म भित्र जम्मा एउटा संवाद बोलेकी छिन् । केकी को हुन् र उनलाई किन मारियो भन्ने नै स्पष्ट फिल्ममा छैन । तर रिलिज अघि केकी फिल्म भित्र रकस्टारको भूमिकामा रहेको निर्माण पक्षले बताएको थियो ।अभिनेत्री केकी अधिकारी नेपाली फिल्ममा परिचित छिन् । उनलाई पर्दामा हेर्न दर्शक पनि आतुर हुन्छन् । राम्रै फ्यान कमाएकी केकीले खेलेको फिल्म भनेपछि दर्शकले पनि राम्रै अपेक्षा गरेर हलसम्म पुग्छन् ।
तर, राम्रो भूमिका भएर पनि फिल्म असफल हुनु आफ्नो कुरा हो । तर, दर्शकलाई पुरै मुर्ख बनाउने गरेर यस्ता कलाकार किन फिल्म खेल्छन्, प्रश्न उठाउन सकिन्छ । केकीले फिल्म बागमतीमा यसरी नै दर्शकलाई मुर्ख बनाइन् । सामान्य रोलका लागि केकीले किन बागमती खेल्ने निर्णय गरिन्, प्रश्न धेरैले उठाएका छन् । यसरी कलाकारले फिल्म खेल्दा झुक्याएर वाघ आयो भनेजस्तै भयो भने केकीको करिअर पनि ध्वस्त हुनेछ । केकीले यस्तो कुरामा विचार पु¥याउने हो कि ?

