फागुन २१ रिलिज फिल्म ’फूलैफूलको मौसम तिमीलाई’को प्रचारको लागी अहिले निर्देशक दिनेश डिसी तथा कलाकारहरु व्यस्त छन् । फिल्म रिलिज हुन दुई महिनाजसो बाँकी रहँदा डिसीले भनेर फिल्मको प्रचार अभियान सुरु गरिसकेका छन् । नेपाली फिल्म उद्योगलाई नजिकबाट बुझेका डिसीको यो अभियान हेर्दा पक्का पनि यो फिल्म केहि विशेष रहेको र राम्रो बनेको अनुमान लगाउन सकिन्छ ।
केहि दिन पहिले प्रधानमन्त्रीको हातबाट शिर्ष गीतको भिडियो सार्वजनिक गरेका डिसीले शुक्रबार युट्युवमा अडियो जुकेबक्स सार्वजनिक गरेका छन् । अडियो एल्बममा समावेश सबै गीतले प्रेमभाव दर्शाउँछन् । गीत सुन्दा कर्ण्प्रिय लाग्छ । माया नगरीमा यी गीतले राम्रै स्थान पाउने आशा निर्माण टिमको छ ।
सार्वजनिक गीतमा संगीत सुरेश अधिकारीको छ भने स्वर राजेशपायल राई, बनिका प्रधान, राज सिग्देल र दीपा लामाको छ । गीतका शब्द निर्देशक डिसी र संगीतकार अधिकारीले लेखेका हुन् । सामान्यतः २ देखी तीन दिनमा खिचिने नेपाली फिल्मको गीतलाई १२ दिन लगाएर १८ लोकेशनमा खिचिएको भनिएको ’फूलैफूलको मौसम तिमीलाई’को शिर्ष गीतले फिल्मी बजारमा राम्रै हाईप लिईरहेको छ । गीत प्रमोशनको लागी डिसीले कुनै कसर बाँकी राखेका छैनन् । यो फिल्ममा नीता ढुङ्गाना र आमेश भण्डारी लिड रोलमा छन् ।

