बहु चर्चित तथा प्रतिच्छित फिल्म 'बागमती' शुक्रबारबाट रिलिज हुँदैछ । निकै हल्लीखल्ली र प्रचारकासाथ प्रदर्शनमा आउन लागेको यो फिल्मले सोलो रिलिजको अबसर पाउनु आशा गर्ने ठाउँ हो । किनकी अन्य हप्ता एकसाथ तीनदेखी चार फिल्मसम्म भिड्ने नेपाली फिल्म उद्योगमा एक्लै फिल्म रिलिजको अबसर पाउनु एक प्रकारको सफलता नै हो ।

यसैबीच फिल्म युनिटले रिलिजको पुर्व सन्ध्यामा बिहिबार राजधानीमा प्रेस भेटघाटको आयोजना गर्यो । कार्यक्रममा अभिनेत्री केकी अधिकारीले आफ्नो अनुभव सेयर गर्दै गुनासो पनि पोखिन् । केकीले 'बागमती'मा डायलग बोल्न नपाएको गुनासो गरिन् । त्यसो त उनी अतिथी पात्रको भूमिकामा मात्र फिल्ममा रहेको समाचार यसअघी नै सार्वजनिक भएको थियो । त्यसैले पनि उनले धेरै भूमिका नपाएको हुनसक्छ ।
'अन्य फिल्ममा धेरै डायलग बोलिन्थ्यो, तर यो फिल्ममा त्यो अबसर मिलेन, राजेश हमाल, शिव श्रेष्ठ जस्ता हस्तीसँग फिल्म गर्ने अबसर पाएपनि धेरै डायलग बोल्ने मौका मिलेन' केकीले बताईन् । 'बागमती' दक्षिण भारतिय निर्देशक सन्नी केरालाले बनाएको फिल्म हो । फिल्ममा हमाल, शिव र केकीसँगै श्रेया कार्की, रविकर घिमिरे, कञ्जन ठकुरी, ध्रुब कोईराला लगायत अभिनयमा छन् । दिनेश दर्शनधारी र बिजय सत्यलको प्रस्तुती रहेको फिल्ममा सुवर्ण महर्जन र यशोधा राईको पनि लगानी छ । अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् ।

