निर्देशक सावित्री खत्री आफ्नो प्रदर्शोन्मुख फिल्म ’काफल पाक्यो’लाई लिएर उत्साहित छिन् । माघ १ म रिलिज हुने यो फिल्म चल्ने, दर्शकको माया पाउने अनि उनको करियरमा नयाँ आयाम थप्ने विश्चास खत्रीमा छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा व्यस्त उनी आफ्नो फिल्म खास नेपाली फिल्म बनेको जिकिर गर्छिन् ।
’टिपिकल नेपालीपना’ र गाउँले शैली बोल्ने फिल्म हेर्दा दर्शकले फिल्मका हरेक पात्रमा आफुलाई पाउने उनको भनाई छ । फिल्ममा अभिनेता जीवन लुईंटेल र बर्षा राउत लिड रोलमा छन् । जीवन अमेरिकामा रहेकोले प्रचारमा ठुलो धक्का भने निर्देशक खत्रीलाई परिसकेको छ । तर यसमा पनि उनी सचेत छिन् । त्यसो त निर्देशक खत्रीले विदेशमा बेचिएको ’प्रदर्शन अधिकार’बाट र च्यारिटीबाट नै फिल्मले लगानी उठाउने दाबी गर्दै आएकी छिन् । माघ १ मा अर्को एक प्रतिच्छित फिल्म पनि रिलिज हुँदैछ ।
तर ‘काफल पाक्यो’लाई त्यस्तो ठुलो थ्रेट कोही पनि नभएको उनले बताउँदै आएकी छिन् । खत्रीले भनेझैं फिल्मले सफलता पायो भने चाहिँ ‘काफल पाक्यो’ पहिलो फिल्म हुनेछ जुन महिला निर्देशित सफल फिल्मको सूचीमा पर्नेछ । यसअघि सुचित्रा श्रेष्ठ, सम्झना उप्रेति रौनियार र रक्षा राणाले निर्देशनमा हात आजमाए पनि सफलता भने हात पारेका छैनन् ।

