पर्यटनमन्त्री आनन्द पोखरेलले चलचित्र विकास वोर्ड आफ्नो मन्त्रालय अन्तर्गत रहनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्रीले दोलखामा फिल्मसिटी नहुने भनेपछि त्यसको बिरोधमा दोलखाबासी र त्यहाँबाट प्रतिनिधित्व गर्ने फिल्मकर्मीहरुको अगुवाईमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले चलचित्र विकास बोर्ड पर्यटन मन्त्रालयको स्वामित्वमा हुनुपर्ने जिकिर गरेका हुन् । उनले यसो भनिरहँदा ताली भने बजेन् ।
उनले फिल्म विधा संस्कृति तथा पर्यटनसँग जोडिएको विधा भएको दाबी गर्दै घुमाउरो शैलीमा विकास वोर्ड आफ्नो मन्त्रालय अन्तर्गत आएको खण्डमा केहि चमत्कार गर्नसक्ने सम्म बोल्न भ्याए । उनले प्रधानमन्त्रीले केहि दिन पहिले दोलखामा फिल्मसिटी बन्न सक्दैन भनेर बोलेपछि मिडियामा आएका समाचारकै कारण पुत्ला जलाउनेसम्म भएको कुरालाई ईङ्गित गर्दै प्रधानमन्त्री केपी ओलीले मिडियामा आएजस्तो आफुले नबोलेको कुरा गरेको बताए । प्रधानमन्त्रीले प्रायोजित ढंगले समाचार लेखेर मिडियाले भ्रम फैलाएको कुरा आफुसँग गरेको उनको भनाई थियो ।
’मैले दोलखालाई फिल्मसिटी बनाउने सरकारको पुर्व योजनालाई नै निरन्तरता दिने बारेमा क्याबिनेटमा समेत छलफल सुरु गरेको छु, मन्त्री पोखरेलले भने, ’माधव पौडेल मन्त्री हुँदा २ करोड बजेट बिनियोजित भएर फ्रिज भयो। अब त्यस्तो हुनेछैन, फिल्मसिटी दोलखामै हुन्छ र त्यसको लागी आफ्नो तर्फबाट हरकदम सहयोग गर्न तयार छु।’ मन्त्री पोखरेलले फिल्म सिटी भनेर सिटी नै बन्न भने नसक्ने बोले । बोल्दैजाँदा उनले फिल्मसिटी भनेको प्राईभेट बिजनेश हो, त्यसको लागी सरकारले केहि गर्न सक्दैन् सम्म भन्न भ्याए । फिल्म स्टुडियो दोलखामा बनाउने र यसैको बहानामा स्थानिय पर्यटनलाई पनि विकास गर्दै पर्यटकिय सिटीको रुपमा समेत विकास गर्न सकिने बताए ।

