'चिनो' फिल्ममा करिब २५ बर्षपहिले सँगै देखिएका खलपात्रको रुपमा परिचित 'राते काईँला' उर्फ सुनिल थापा र अर्का अभिनेता अर्जुनजंग शाही त्यसपछि लामो समयसम्म पर्दामा सँगै देखिएनन् । सुनिल थापा त्यसयता पर्दामा अक्कलझूक्कल आईरहेका छन् । नेपाली मात्र नभएर बलिउड फिल्म पनि उनले यो बीचमा गरे ।
तर शाही यो बीचमा फिल्म क्षेत्रबाट हराए । अब भने यी दुई नाम चलेका पात्र पर्दामा साढे दुई दशकपछि सँगै देखिने अबसर मिलेको छ फिल्म 'लक्ष्य' मा । शनिबार राजधानीमा आयोजित फिल्मको फर्स्टलुक तथा ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै थापाले शाहीसँग २५ बर्षपछि पर्दामा सँगै फर्किन पाएकोमा खुसी व्यक्त गरे । उनले 'चिनो'मा २५ बर्ष पहिले सँगै काम गर्दाको अनुभव समेत सञ्चारकर्मी तथा उपस्थित फिल्मकर्मीमाझ साटे ।
त्यसपश्चात पोडियममा आएका शाहीले पनि करिब १५ बर्षपछि पुनः फिल्ममा फर्किन पाएकोमा खुसी व्यक्त गर्दै यो अबसरको लागी 'लक्ष्य' टिमलाई धन्यवाद दिए। उनले 'लक्ष्य' पुनरागमनको सुरुवात भएपनि अन्य फिल्ममा समेत अनुबन्ध भईसकेको भन्दै दर्शकको पुरानो साथ पुनः मिल्नेमा आशा व्यक्त गरे । मिलन आलेमगर निर्देशित यो फिल्ममा थापा र शाहीसँगै सविन श्रेष्ठ, अनु शाह, सारिका केसी लिड रोलमा छन् । फिल्मको कथा सुशिल पंगेनीले लेखेका हुन् । चैत्र ५ मा रिलिज हुने भनिएको यो फिल्ममा संगीत अर्जुन पोखरेल र टंक बुढाथोकीको छ ।

