निर्देशक नारायण पुरीले अभिनेता हसनराजा खानको जन्मदिनको अवसरमा उनलाई फिल्म उपहार दिएका छन् । शुक्रबार दरबारमार्ग स्थित ल्याण्डमार्क होटलमा भएको कार्यक्रममा पुरीले खानलाई आफूले निर्देशन गर्ने फिल्मको मुख्य अभिनेताको रुपमा अनुबन्ध गर्ने खबर सार्वजनिक गरेका हुन् ।
पुरीले २८ औं फिल्मको रुपमा हसनलाई लिएर नयाँ फिल्म निर्देशन गर्न लागेका हुन् । नाम तय भईनसकेको सो फिल्मको पुरीले हसनलाई पटकथा प्रदान गर्दै औपचारिता प्रदान गरेका थिए । फिल्ममा रामेश्वर कार्कीको छायांकन र सुरेश अधिकारीको संगीत रहने कार्यक्रममा जानकारी गराईयो । फिल्मको पटकथा अमरदीप सापकोटाले लेखेका हुन् । फिल्मका बाँकी कलाकारको टुंगो लागिसकेको छैन । फिल्मको सुटिङ फागुन महिनादेखि गर्ने लक्ष्य रहेको खानले बताए ।
निर्देशक नारायण पुरी ५ वर्षपछि फिल्म निर्देशनमा फर्कन लागेका हुन् । उनले फिल्मको विषयमा केही नखुलाएपनि केही दिन पहिले मात्र अमेरिका भासिन लागेको खबरको खण्डन गरेका थिए ।उता जन्मदिनमा फिल्म उपहार पाएकोमा हसनको खुशीको सिमा थिएन । उनले नजिकका साथीभाइ र आफन्तका बीच केक काटेर जन्मदिन मनाएका थिए । हसनले यसअघि ‘अलविदा’मा अभिनय गरेक ाथिए ।

