सोनाक्षी सिन्हा पर्दामा आफ्नो इमेज फेर्न आतुर छिन् । सुरुका केही फिल्ममा गाउँकी सोझी केटीको भूमिकामा स्थापित भएकी सोनाक्षी त्यसयताका फिल्ममा सिर्फ हिरोको शो पिसका रुपमा मात्र देखिँदै आएकी छिन् ।
पहिलो फिल्म ‘दबंग’मा उनी घरलु युवतीको रुपमा पहिलो पल्ट देखिएकी थिइन् । त्यसयता ‘लुटेरा’बाहेक अरु फिल्ममा सोनाक्षी हुनुनहुनुले खासै फरक पार्दैनथ्यो । त्यही भएर सोनाक्षीले केही समय यता आफू छवि बदल्न आतुर रहेको प्रतिक्रिया दिएकी थिइन् । नभन्दै अब दर्शकले उनलाई साधारण युवती हैन लडाकु युवतीको रुपमा देख्न पाउनेछन् । सोनाक्षीको यो अवतार ‘फोर्स २’मा देख्न पाइनेछ ।
‘फोर्स २’मा जोन अब्राहम र सोनाक्षीले भरपुर एक्सन गरेको निर्माण टिमले बताएको छ । ‘फोर्स २’ सन् २०११मा रिलिज भएको फिल्म ‘फोर्स’को सिक्वेल हो । जोन अब्राहम र सोनाक्षी सिन्हा पहिलो पल्ट पर्दामा सँगै देखिन लागेका हुन् ।

