२०६८ सालमा निर्देशक नारायण पुरीले फिल्म ’ए फर अमेरिका’ बनाउने योजना अघि सारे । फिल्मको निर्माण कार्य पनि सुरु भयो । ’लामो समयदेखी फिल्म निर्देशनमा नारायण पुरी लागे’ भनेर मिडियामा पनि राम्रै हल्ला चल्यो । तर बिडम्बना उनको यो फिल्म पुरा नै हुन् सकेन् । अमेरिकामा बस्ने नेपालीको पीडा बोल्ने फिल्म बनाउने भनेर नारायण पुरी लागेपनि अन्तिममा उनी आफै अमेरिका हानिने पक्का भएको छ तर त्यो फिल्म भने कहाँ हरायो कसैलाई पत्तो छैन् ।
सो फिल्मपछि उनी मिडियाको कामलाई निरन्तरता दिन थाले त्यसपछि फिल्म बनाएका छैनन् पनि । नेपालमा केहि भाग दृश्य छायाँकन गरिएको यो फिल्मको बाँकी अंश अमेरिकामा खिच्ने भनिएपनि लिड अभिनेत्री केकी अधिकारी लगायतको भिषा समस्याका कारण तत्काल सुटिङ हुन नसकेको कुरा बाहिर आएको थियो । तर केकी अमेरिका पुगेर आईसकिन् ।
जानकारीमा आए अनुसार अबको केहि महिना मै निर्देशन पुरी परिवार सहित अमेरिका जाँदैछन् । यो बिषयमा बुझ्ने प्रयास गर्दा उनको फोनमा सम्पर्क हुन सकेन् ।
फिल्ममा रेखा थापादेखी, राजबल्लभ कोईराला, केकी, निर शाह, सन्तोष पन्त, सुनिल थापा, भरत सिटौला लगायतका कलाकारले अभिनय गर्ने कुरा थियो । अमेरिकामा खिचिने भनिएपछि कलाकारमा पनि छुट्टै उत्साह देखिएको थियो । २०६८ यता अहिलेसम्म पनि रेखादेखी केकीसम्म सबै अभिनयमा व्यस्त नै छन् । तर अहिले यी कोही पनि कलाकारले यो फिल्मको बारेमा कहिँकतै मुख खोल्दैनन् । आफ्नो अभिनय समेटिने फिल्मको बारेमा चासो चर्चा गर्न कलाकारहरुले पनि किन कन्जुस्याईं गरे त्यो अर्को बिषय छ ।
हरेक नेपालीको सपनाको केन्द्र बिन्दु बनेको देश अमेरिका जान किन मरिहत्ते गर्छन् ? त्यहाँ पुगेपछि कस्ता कस्ता समस्या आउँछन् ? नेपाल छोडेर अमेरिका पलायन भएका कलाकारको अवस्था कस्तो छ ? यस्ता विषय समेटेर फिल्म बनाउन लागेका पुरी आफै उतै बस्नेगरी अमेरिकाको बाटो तताउन तयार छन् ।
श्रोतका अनुसार भारतिय मुलका अमेरिकन व्यापारी अमिर अलीको एक बिजनेश डिपार्ट सम्हाल्ने गरी पुरी अमेरिका जान लागेको बुझिएको छ । त्यैसैले होला, केहि दिन पहिले सम्पन्न अली लगानीकर्ता रहेको एक फिल्मको कार्यक्रममा पनि उनी सँगसँगै देखिएका थिए । अमेरिका पुगेपछि पुनः यो फिल्मको बाँकी कामलाई निरन्तरता दिन पुरी तयार हुन्छन् या पैसा कमाउनमा मात्र लाग्छन् त्यो त समयले बताउला । तर पुरी अमेरिका गएपछि ‘ए फर अमेरिका’ बन्यो भने चाहिँ यथार्थवादी फिल्म बन्ला , हामी आश गर्न सक्छौं ।

