माघ महिना फिल्म क्षेत्रका लागि सुखद बन्ला कि सामान्य, समयले नै बताउनेछ । तर, फिल्म रिलिजको संख्या हेर्ने हो भने यो महिना निर्माताको करोडौ लगानी जुवामा लाग्ने छ । माघ महिनाका हरेक हप्ता कुनै न कुनै फिल्म एक आपसमा जुधिरहेका छन् ।
त्यही भिडमा माघ २२ पनि पर्छ, जहाँ फिल्मको थुप्रो लागेको छ । निर्देशक राजु गिरीले यो मितिमा आफ्नो फिल्म ‘विन्दास ३’ प्रदर्शन गर्ने उद्घोष पहिले नै गरेका थिए । हुनत, यो फिल्म यो मितिमा लाग्छ या लाग्दैन, टुंगो छैन । तर, राजु यो मितिमा फिल्म आउने बताउँछन् । यही मितिमा माघ १५ गतेबाट सरेको फिल्म ‘कैफियत’ पनि लाग्नेछ । दशरथ गिरीको निर्देशनमा तयार भएको फिल्ममा नन्दिता केसी मुख्य भूमिकामा छिन् ।
फिल्मको द्धन्द्धात्मक पाटो अहिले रुचाइएको छ । माघ २२ मै अर्को फिल्म ‘कसैलाई नभन्नु’ पनि लाग्दैछ । यही मितिमा अभिनेत्री विनिता बराल अभिनित फिल्म ‘सुपरहिट’ पनि हलमा देखिनेछ । बारम्बार प्रदर्शन मिति सरेको यो फिल्मलाई माघ २२ मा लगाउने अन्तिम तयारी गरिएको छ । ४ वटा फिल्मको भिडन्त नेपाली फिल्मका लागि सुखद होइन । तर, भूकम्पका कारण ४ महिना प्रदर्शन हुन नपाएका फिल्मको पनि प्रदर्शन मिति तय गरिएपछि भिडन्त देखिएको हो ।

