अभिनेता सलोन बस्नेत जतिबेला पिता शोभित बस्नेतको फिल्ममा बाल कलाकारको रुपमा देखिन्थे, धेरैलाई लाग्थ्यो उनी ठूलो भएपछि स्टार हुनेछन् । फिल्म ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यू गर्दा उनको क्रेज चुलिएको थियो । सलोनले गरेको अभियनलाई फिल्म ‘होस्टेल’मा दर्शकले रुचाएका थिए ।
यसपछि भने सलोनको स्टारक्रेज बढ्न सकेको छैन । सलोन मुख्य भूमिकामा रहेको फिल्म ‘आधा पेज’ले पनि दर्शकको साथ पाएन । यो फिल्मबाट सलोनले ठूलो आश गरेको बताएका थिए । तर, सलोनलाई हेर्न दर्शक हलसम्म आएनन् । जसले गर्दा पनि उनको क्रेज अगाडि बढ्न नसकेको देखिन्छ । होस्टेल रिलिज भएपछि सलोनका केही फिल्म हलमा आए, जसमा उनी सहायक भूमिकामा थिए ।
तर, दर्शकले सलोनलाई पत्याएनन् । आभाष, लब सब, एउटा साथी जस्ता फिल्ममा सलोनले अभिनय गरेका थिए । ३ वटै फिल्मको चर्चा खुबै भयो । तर, सोचे जस्तो व्यापार फिल्मले गर्न सकेनन् । यसैले पनि अब सलोनलाई फिल्म छनोट गरेर अभिनय गर्नुपर्ने देखिएको छ ।उनीसँगै फिल्ममा डेब्यू गरेको अभिनेता भूवन केसीका छोरा अनमोल केसी भने अहिले फिल्म क्षेत्रमा उचाइमा पुगिसकेका छन् ।

