दोलखाको लाँकुरीडाँडालाई फिल्मी सिटी बनाउने भनेर धेरै फिल्मकर्मीहरु लागिपरे । फिल्मसँग सम्बन्धित केहि संघ संस्था मात्र लागिपरेनन्, फिल्मी क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डमा पनि यो विषयमा बहस भयो । सरकारी स्तरमा नै दोलखाको उक्त ठाउँलाई फिल्मीसिटी बनाउने अभियान लामो समयदेखी चलिरहँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने यसको विपक्षमा देखिएका छन् । ओलीले दोलखाको लांकुरीडाँडालाई 'हिरोईन रिसाएर ठुस्किँदा हिरोले फकाउने ठाउँसमेत नभएको भन्दै व्यङ्ग्य गरे ।
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा उनले डाँडापाखाको गाउँ दोलखामा फिल्मी सिटी बनाउन बहुने बताए । उनले यसको विपक्षमा 'स्मार्ट सिटी'को अबधारणा अघी सारेका छन् । प्रधानमन्त्री ओलीले गोरखा जिल्लाको पश्चिम तथा दक्षिण भेग, लमजुङको दक्षिण भेग भोटेओढार साईड, पालुङटार तथा तनहुँको चुंदिरम्घा लगायतको क्षेत्र समेटिनेगरी 'स्मार्ट सिटी' बनाउने योजनामा सरकार लाग्ने बताए ।
जहाँ उनले अन्तर्राष्ट्रिय स्तरको फिल्मी सिटी बनाईन सक्ने समेत बताए । 'त्यसको लागी सरकारले कार्योजना बनाएर अघी बढ्नेछ, यसमा सम्पुर्ण कला तथा संस्कृति क्षेत्रका व्याक्ति तथा संघसंस्थाको साथ र सहयोगको अपेक्षा गरेको छु' ओलीले भने ।
प्रधानमन्त्री ओलीले देशमा व्याप्त प्रतिकुल अवस्थामा समेत देशको गहना मानिने कला संस्कृति धान्ने कलाकर्मीहरु आफ्नो काममा दृढताका साथ लागिरपरिरहेकोमा खुसी व्यक्त गर्दै सबैलाई बधाई तथा धन्यबाद बोले । पारस्परिक भावनाले नै हरेक काम सफल बन्ने भन्दै देशमा बढी बोल्ने तर काम नगर्ने प्रवृति मौलाएकोमा चिन्ता व्यक्त गरे ।

