माघ २९ गते ३ वटा प्रेम कथामा बनेका फिल्मको प्रदर्शन हुने भएपछि अहिले फिल्म नगरी तातिएको छ । यतिमात्र होइन, ३ फिल्मको भिडन्तमा विभिन्न खालका आरोप प्रत्यारोप पनि देखिएका छन् । फिल्म प्रेमगीतका निर्माताले त फिल्म क्लासिकमाथि ठूलै आरोप लगाइसकेका छन् । यो खेल, फिल्म चल्ने मितिसम्म अझ बढेर जाने देखिएको छ ।
अहिले माघ २९ गते चल्ने ३ फिल्म मध्ये क्लासिक र प्रेमगीतको चर्चा वेग्लै किसिमको छ । यो चर्चाको समयमा अर्को फिल्म ‘चलेछ बतास सुस्तरी’ पछि परेको देखिन्छ । हुनत, यसका निर्माता प्रदिप भारद्धाज फिल्म प्रचारमा आफ्नै शैली अपनाएको बताउँछन् ।
नेपालमा २ वटा फिल्म एकसाथ प्रदर्शनमा आउँदा दुबैको व्यापार राम्रो भएको पाइन्छ । तर, ३ वटा फिल्म हलमा लाग्दा एउटा कि त एउटै फिल्म पनि नचल्ने वा चलेपनि एउटा मात्र चल्ने र दुई फिल्म नचल्ने दृष्टान्त ज्यादा छन् ।सुष्मा कार्की र प्रमोद भारद्धाजको मुख्य भूमिका रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’लाई अन्य २ फिल्मसँगको भिडन्तमा अगाडि बढ्न प्रचारको योजना वेजोड बनाउन जरुरी छ ।

