निर्देशक दिनेश डिसी पब्लिसिटी स्टण्टका लागि माहिर मानिन्छन् । प्रोपागाण्डा गरेर होस् या स्कयान्डल गरेर उनले आफ्नो फिल्मको प्रचार प्रसारलाई व्यापक बनाउँछन् । फागुन २१ रिलिज उनको फिल्म ’फूलैफूलको मौसम तिमीलाई’को प्रचारको लागि अहिले उनी कम्मर कसेर लागेका छन् । सोमबार डिसीले आफ्नो फिल्मको श्रव्य तथा दृश्य सार्वजनिक गरे त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच ओली दम्पतिको हातबाट फिल्मको एल्बम बिमोचन गरियो । ओलीले ल्यापटपमा ’ईन्टर’ हान्दै फिल्मको भिडियो गीत पनि सार्वजनिक गरे । टाईटल गीत ओलीले पत्निसँगै बसेर हेरे पनि । करिब २ घन्टा पर्खेर कार्यक्रममा सहभागिता जनाएका उपस्थित सञ्चारकर्मीको अघि ओलीले अरुबेला जस्तो हाँसो ठट्टा गर्न पनि पछि परेनन् । भाषण दिँदा होस् या दृस्य कैद गर्दा हंसिलो मुहारमा देखिएका ओलीले माहोल पनि रोमाञ्चक पारे ।
ओलीले नेपाली फिल्मको स्तरउन्नतिको लागि आफ्नो कार्यकालमा सक्दो का गर्ने प्रतिबद्धता जनाए । फिल्म रिलिजको दिन आफुू पनि पैसा तिरेर नै हलमा पुगेर फिल्म हेर्ने भन्दै १० वटा टिकट समेत निर्देशक डिसीसँग मागे ।कार्यक्रममा फिल्मका निर्माता, निर्देशकसँगै लिड कलाकार आमेश भण्डारी र नीता ढुङ्गानाको पनि उपस्थिति थियो ।

