नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिले बिकास बोर्ड समक्ष तीन बुँदे माग पेश गरेको छ । आइतबार नव निर्वाचित कार्यसमिति सहित बोर्ड पुगेका नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रामकेशर बोगटीले बोर्ड अध्यक्ष राजकुमार राई समक्ष सेलिब्रेटी कार्ड वितरण, फिल्म नीति र फिल्म दर्ता गर्दा कलाकार संघको पनि स्विकृति लिन पर्ने व्यस्वस्था गर्न माग पत्र पेश गरेका थिए ।
‘वरिष्ठताको आधारमा सेलिब्रेटी कार्ड वितरण गर्नमा जोड दिएका छौं । त्यस्तै बोर्डमा फिल्म दर्ता गराउन पूर्व फिल्ममा खेल्ने कलाकारले अनिवार्य रुपमा कलाकार संघको सदस्य हुनुपर्छ भन्ने माग पनि राखेका छौं, बोर्ड अध्यक्ष बोगटीले भने, ‘ चलचित्र नीतिलाई व्यवस्थित गर्न गठन गरिएको सरकारी टोलीमा कलाकारहरुको पनि प्रतिनिधित्व हुनपर्छ भन्नेमा जोड दिएका हौं ।’
कार्यक्रममा नयाँ कार्यसमितिलाई चलचित्र विकास बोर्डको तर्फबाट राजकुमार राईले माला र अविर लगाएर स्वागत गरेका थिए । संघको तर्फबाट बोगटी सहित अभिनेत्री रेजिना उप्रेती, सानुकुमार ताम्राकार, सरिता लामिछाने, चेतबहादुर सिंह, विमला केसी , अभिनेत्री नन्दिता केसी, गजित विष्ट, शिवहरि पौड्याल, सविन श्रेष्ठ, देवीराम पराजुली, अशिष्मा नकर्मी, विष्णुप्रसाद सापकोटा, रश्मी भट्ट, कविता गेलाल शर्मा, शिवहरि नेपाल बैरागी र धनबहादुर बम्जन लगायतको टोली बोर्ड पुगेको थियो ।

