अभिनेता राजेश हमालले अभिनय गरेको फिल्म बागमती पौष २४ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको प्रचारका लागि उनले साइकल यात्रा पनि गरेका छन् । उनै हमाललाई यो फिल्मबाट कमब्याक गर्न लागिएको भनेर चर्चा पनि गरिएको छ ।
राजेश हमाल फिल्म क्षेत्रमा निरन्तर छन् । उनको राज साढे २ दशकदेखि फिल्म क्षेत्रमा छ । तर, पनि हमालको कमब्याक ‘बागमती’बाट भनेर प्रचार गरिएको छ । हमालले यसमा कुनै टिप्पणी गरेका छैनन् । एक कार्यक्रममा पुगेका हमालले ‘बागमती’ टिमले प्रचारका लागि आफ्नो कमब्याक भनेको हुनसक्ने बताए । तर, उनले आफू यही क्षेत्रमा भएकाले कमब्याक हो कि होइन थाहा नभएको बताए ।
हमालले आफूले ‘बागमती’ नामक फिल्म खेलेको र यसको प्रचारका लागि अहिले अगाडि देखिएको बताएका छन् । अन्य कलाकारले जस्तो कमब्याक भन्ने वित्तिकै चित्त दुखाउने काम भने हमालले गरेका छैनन् । तर, फिल्मको निर्माताले भने हमालको कमब्याक भन्दै फिल्मको प्रचार गरिरहेका छन् । यसअघि फिल्म ‘हँसिया’लाई पनि निर्माण टिमले निकै महत्वकांक्षी फिल्म भन्दै प्रचार गरेको थियो । तर फिल्म रिलिज भएपछि न फिल्ममा दम देखिएको थियो न हमालको भूमिकामा ।
यस्तै आँकलन ‘मुखौटा’को बेला पनि गरिएको थियो । तर अहिले दर्शक त के स्वयम् निर्माण समूह पनि सायद यो फिल्मको नाम सम्झन चाहान्नन् । कतै ‘बागमती’ पनि त्यस्तै नहोस् ? सन्नी केरलाको निर्देशनका बनेको यो फिल्ममा केकी अधिकारी र शिव श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । दक्षिण भारतीय टिमले निर्माण गरेको यो फिल्मलाई लिएर दर्शक उत्साहित छन् ।

