यस्तो देखिदैछ, चैत्र महिना अभिनेता सविन श्रेष्ठमय हुनेछ । चैत्रमा मात्रै उनका तीन फिल्म रिलिज हुँदैछन् । यो महिना सविनले अभिनय गरेका ३ फिल्म चल्ने पक्का जस्तै छ । फिल्म लक्ष्यले आफ्नो फस्ट लुक सार्वजनिक गर्दै चैत्र १२ लाई मिति तोकेपछि सविन चैत्र महिनाभर हलमा देखिने भएका हुन् ।
महंगो बजेटमा बनेको भनिएको फिल्म ‘लक्ष्य’मा सविन रिसाहा प्रेमीको भूमिकामा देखिएका छन् । चैत्र ५ गते सविनले अभिनय गरेको फिल्म ‘भाग् सानी भाग्’ लाग्नेछ । नवल नेपालले निर्देशन गरेको यो फिल्ममा उनले केकीसँग स्क्रिन साटेका छन् । फिल्म लक्ष्यमा सविनले अनु शाह र सारिका केसीसँग स्क्रिन साटेका छन् । यस्तै, चैत्रको अन्तिम हप्ता अर्थात २६ गते सविन अभिनित फिल्म ‘रामप्यारी’ लाग्नेछ । रेखा थापासँग उनले यो फिल्ममा स्क्रिन शेयर गरेका छन् । यसैले चैत्र महिनाभर सविनलाई दर्शकले हलमा देख्नेछन् ।

