फागून २१ गतेको भिडन्तलाई लिएर अहिले फिल्म क्षेत्रमा पनि चर्चा छ । यो मितिमा अभिनेता भूवन केसीको फिल्म ‘ड्रिम्स’ र निर्देशक दिनेश डीसीको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ एकसाथ लाग्दैछन् । मेकिङ र ब्यानरका हिसाबले यी दुबै फिल्म ठूला छन् । उसो भए, यी दुईको भिडन्तले कसलाई कति असर गर्ला त ? निर्देशक दिनेश डीसीलाई भूवन केसी आफूसँग भिडन्त गर्न आएको ठम्याई छ ।
यो मितिमा आफूले पहिले नै प्रदर्शन मिति तोकेकाले भूवनसँग आफू नभई आफूसँग भूवनको भिडन्त हुन लागेको दिनेशको वुझाई छ । तर, पनि उनले भिडन्त गर्न आउने भूवन केसीलाई दाइ भन्दै स्वागत गर्ने बताएका छन् । निता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शन हुने भनिएको १ बर्ष बढी भैसकेको छ । तर, दिनेशले बारम्बार प्रदर्शन मिति सारेका छन् ।
भूवन केसीले पनि फागुन २१ मा फिल्म ल्याउने भनेर तोकेपछि अहिले कसको फिल्मले कसलाई असर गर्छ भन्ने बहस पनि सुरु भएको छ । भूवन केसी र दिनेश डीसी दुबैले आफ्नै ब्यानरमा फिल्म बनाएका हुन् । यसैले पनि यी दुइका लागि फिल्मको व्यापार महत्वपुर्ण छ । तर, ड्रिम्समा छोरा अनमोल केसी भएकाले पनि भूवन ढुक्क हुने आधार धेरै छ । किनकी, अनमोलको फिल्म हेर्न उनका फ्यानहरु हलमा पुग्ने गर्छन् ।

