फिल्म ‘साइनो’को निर्माण हुने क्रममा अभिनेता राजेश हमाल दिल्लीमा थिए । दिल्लीमा रहेर उनले मोडलिङ र अध्ययनलाई अगाडि बढाइरहेका थिए । सोही समयमा उनको भारतको एक चर्चित पत्रिकामा समाचार पनि छापिएको थियो । हमाल नेपाल आएको समयमा उनीसँग ‘साइनो’ फिल्मको निर्माण कम्पनीले भेट गरेको थियो ।
हमालको फिगर, लामो कपालका कारण पनि उनलाई फिल्ममा लिने पक्का भयो । फिल्म पक्का गरेर हमाल दिल्ली पुगे । पछि उनलाई यो फिल्मबाट निकालिएको कुरा आयो । हमाल यो फिल्मबाट बाहिरिनुको कारण, बलिउडमा अहिले चर्चामा रहेका कलाकार डेनी थिए । डेनीले पनि साइनो फिल्ममा काम गर्ने पक्का भएको थियो । जब, राजेश हमालको तस्बिर हेरे डेनीले, त्यसपछि उनले हमाललाई नलिने कुरा गरे ।
हमालको कारण आफू असुरक्षित भएको महशुश डेनीलाई भएको थियो । काठमाण्डौमा बुधबार आयोजना भएको सेतोपर्दा अनलाइनको शुभारम्भ कार्यक्रममा हमालले यो कुरा खुलाएका हुन् । उनले सुरुमा फिल्ममा काम गर्ने पक्का हुँदा खुशी लागेपनि पछि आफू नरहने खबरले पनि खासै दुख नलागेको बताएका थिए । पछि सो भूमिका भुवन केसीले गरेका थिए ।

