गत शुक्रबार दुई नेपाली फिल्म रिलिज भए । अन्य हप्ता कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आउँदा व्यापक हल्लीखल्ली हुन्थ्यो । प्रचारको हानथाप हुन्थ्यो, तर यो पटक त्यस्तो भएन् । कम पब्लिसिटी तथा बिना हल्लीखल्ली हलमा आएका यी दुई फिल्म रिलिजले हल पनि सुनसान देखिए । ’लाटी’ र ’अग्नि’मा भन्दा दर्शक यसअघि नै रिलिज भएका अन्य फिल्ममा देखिए ।
बिना स्टारकास्ट तथा कुनै नाम चलेको निर्देशक नहुनु तथा मिडियाबाजी कम हुनुले फिल्मको बिजनेशमा प्रत्यक्ष प्रभाव देखियो । कम बजेटमा बनेका भनिएका दुबै फिल्मले लगानी रिकभर गर्न सक्ने अबस्था देखिँदैन् । विवादित फिल्म ’एटिएम’ अभिनेत्री सबिना कार्की ’लाटी’ बनेर आउँदा पनि उनले दर्शकमा परेको गलत छापलाई मेटाउन सकिनन् ।
राजबहादुर शानेको निर्देशन रहेको ’लाटी’मा सबिनासँगै टेलि पर्दामा बढी देखिने कलाकार रामचन्द्र अधिकारी, सुवास गजुरेल लगायत अभिनयमा छन् । भने ’अग्नि’लाई परिचित निर्माता उदय सुब्बाले निर्माण गरेका हुन् ।
करिब चार बर्ष पहिले बनेको दिलिप रायमाझी अभिनित यो फिल्म रिलिजको लागि मात्रै रिलिज गरियो भन्दा फरक नपर्ला किनकी खस्किँदो स्टारडमका कारण चिन्तित दिलिप अमेरिका हानिईसकेका छन् । उनको नामको प्रभाव ’अग्नि’मा पनि देखिएन् ।फिल्म बनाईसकेपछि केहि आशा निर्माता निर्देशकमा हुनेमा दुई मत छैन् । तर रिलिज नगरी थन्क्याउन भन्दा पनि रिलिज गरिदिउँ न त भन्ने नियतमा हलमा ल्याउने हो भने निर्माता र निर्देशकमा नाम लेखाउन अनि म पनि फिल्म उद्योगको यो मान्छे हो भने गफ दिएर हिँड्नु बाहेक केहि फाईदा देखिँदैन् । त्यसैले फिल्म बनाउने सोच बनाउने समयमै यो बारेमा पनि सोच्ने की ?

