बुधबार दिनभर गौरव पहारी हैरान भए । हैरान हुने कारण थियो सकुशल रहेका उनलाई धेरै दुर्घटना परेको आशंका गर्नु । सोमबार राती भएको एउटा कार दुर्घटनामा गौरव पनि परेको खबर बाहिरिएपछि धेरैले गौरवको हाल खबर सोध्दै फोन गरे ।
सोमबार मध्यरातमा माइतीघर मण्डलामा एउटा गाडी दुर्घटना भएको तर पुलिसले दुर्घटनाको खबर बाहिर नल्याएको खबर बुधबार नागरिक दैनिकले छाप्यो । नागरिकले दुर्घटना परेको कार एउटा मिडियो ग्रुपको नाममा रहेको उल्लेख गरेर नाम लुकाएको थियो तर सामाजिक सन्जालमा त्यो गाडी कान्तिपुर मिडिया ग्रुपको रहेको र गाडी कैलाश सिरोहियाका छोराले चलाईरहेको छताछुल्ल भयो । तरसँगसँगै अर्को खबर पनि फैलियोकी दुर्घटनाका बखत गौरव पनि गाडीमा सँगै थिए र उनको अवस्था तुलनात्मक रुपमा गम्भिर छ ।
तर गौरव विगत १५ दिनदेखि फिल्म ‘गाजलु’को सुटिङमा व्यस्त छन् । उनले दुर्घटनामा आफ्नो नाम आएको देखेर अचम्म लागेको बताए । उनले भने, ‘कहाँबाट मेरो नाम त्यो दुर्घटनामा जोडियो थाहा छैन तर सबलाई आफू सकुशल रहेको जवाफ दिँदादिँदा हैरान भएको छु,’ गौरवले भने ।
स्रोतका अनुसार दुर्घटनाका बखत गौरव हैन नातामा उनका भाइ पर्ने सौरभ पहारी सो गाडीमा थिए । र उनलाई चोट लागेका कारण नर्भिकमा उपचार गराईरहेका छन् । नर्भिक जाने आउनेले गौरवका पिता कलाकार टीका पहारीलाई पनि अस्पतालमा देखेपछि धेरैले चलिरहेको शंकालाई सत्य भन्ठाने । अर्थात गौरव नै दुर्घटनाका बखत गाडीमा थिए । तर गौरवले दुर्घटनासँग आफ्नो कुनै साइनो नभएको स्पष्ट पार्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

