बर्ष २०१५ को बलिउडको प्रतिच्छित फिल्म ’दिलवाले’को नेपाल प्रदर्शन अधिकार दर्शना आर्ट्सले लिएको छ । शाहरुख र काजोल स्टारर यो फिल्मलाई दर्शनाले नेपाल प्रदर्शनको लागी २ करोड नेपाली रुपैयाँमा किनेको हो । दर्शना आर्टस्का दीपक सापकोटाले फिल्म १ करोड २५ लाख भारुमा किनेको पुष्टि गरे । १ करोड २५ लाखको नेपाली रुपैंया दुई करोड हुन आउँछ । फिल्मको प्रचार अहिले ब्यापक छ ।
यही शुक्रबार अर्थात डिसेम्बर १८ मा रिलिज हुने फिल्मले भारतमा त करोडौं कलेक्शन गर्ने शंका छैन् । नेपालबाट पनि कम्तिमा ४ करोडको बिजनेश गर्ने अनुमान छ । त्यसो त नेपालमै पनि यसअघि फिल्म ’पिके’ले ६ करोड बढीको कलेक्शन गरेको थियो ।
नेपालमा फिल्म ल्याउनको लागी तछाड मछाड गरेका अन्य वितरण कम्पनिलाई दर्शनाले उछिन्दै शाहरुख र काजोलसँगै बरुण धवन र कृति सेनन स्टारर यो फिल्म नेपाल ल्याएपनि नाफा कमाउन भने त्यति सहज छैन् । किनकी यही मितिमा अर्को प्रतिच्छित बलिउड फिल्म ’बाजिराव मस्तानी’ पनि रिलिज हुँदैछ । ’बाजिराव मस्तानी’ को वितरण अधिकार भने गोपीकृष्ण मुभिजले लिएको छ ।
‘दिलवाले’ उपत्यका र बाहिर गरी १ सय १० भन्दा बढी पर्दामा रिलिज हुने दीपकले बताए । बलिउडको सबैभन्दा हिट जोडी काजोल र शाहरुख लामो समयपछि पर्दामा देखिन लागेकाले ‘दिलवाले’ले आक्रामक कलेक्सन गर्ने धेरैको अनुमान छ ।

