फिल्म ’लालटिन’ निर्माणको औपचारिक घोषणा गरिएको छ । ’लभ सव’ निर्देशक देवकुमार श्रेष्ठको ’एक्शन कट’ रहने यो फिल्म मंगलबारबाटै फ्लोरमा जानेछ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की तथा केकी अधिकारी लिड रोलमा हुनेछन् । निर्माण घोषणा कार्यक्रममा भने प्रियंका र केकी अनुपस्थित रहे ।
राजधानीमा एक कार्यक्रम गर्दै एम. सोन. पिक्चर्स प्रालिको ब्यानरमा फिल्म बन्ने जानकारी गराईयो । भानुप्रताप प्रस्तुतकर्ता रहेको फिल्ममा माथि उल्लेखित कलाकारसँगै राज कटुवाल, रिया श्रेष्ठ, भानुप्रताप, अर्जुन गुरुङ, जनक बर्तौला लगायतको अभिनय रहने छ । ’लालटिन’ सामाजिक कथामा बन्ने बताईएको छ ।
हरि लामाले खिच्ने फिल्ममा नृत्य कविराज गहतराजको हुनेछ भने एक्शन निर्देशक रोशन श्रेष्ठको रहने बताईएको छ । फिल्मको कथा किरण माईकल र भानुप्रतापको हो । फिल्म ’वान वे’ र ’रातो घर’मा अभिनय गर्दै खलनायकको भुमिकामा जम्न संघर्षरत भानुले यो फिल्म मार्फत निर्माणमा पनि हात हालेका हुन् ।

