४०९ जना कलाकारले चलचित्र कलाकार संघको निर्वाचनमा भोट हाले । भोट हाल्न लाइनमा बसेका कलाकारहरुलाई देखेर एक कलाकारले भने, ‘के म कलाकार संघकै निर्वाचनमा छु ।’ उनको प्रश्नमा किन भनेर सोध्नेलाई उनको जवाफ थियो, ‘खै त चिनिएका अनुहार त कोही देख्दिन ।’
कलाकार संघलाई सेलिब्रेटीहरुको संस्थाको रुपमा अगाडि बढाउने योजना अहिलेको नयाँ कार्यसमितीको छ । तर, कलाकार संघको निर्वाचनमा देखिएको भिड देख्दा लाग्छ, खोइ त कलाकार ? कलाकार अरुले बनाउने होइन, आफै बन्ने हो । जसका लागि त्यही अनुसारको काम र क्रेज बनाउन जरुरी छ ।
तर, कलाकार संघको निर्वाचनमा पुगेका केही कलाकार लाइनमा बसेर भोट हालेनन् । दर्शकले कमै मात्र चिन्ने र केही सिनमा मात्र देखिने धेरै कलाकार लाइनमा देखिए । जसका कारण पनि कलाकार खोइ त भन्ने प्रश्न चुनावको समयमा खुबै सुनिएको थियो ।
रेखा थापा, भुवन केसी, आर्यन सिग्देल, शिव श्रेष्ठ लगायतका कलाकारले लाइनमा बसेर भोट हालेनन् । दीपाश्री निरौला, दीपकराज गिरी लगायतका कलाकार पनि लामो समयसम्म लाइनमा बसेनन् । अहिलेका चल्तीका धेरै कलाकार भोट हाल्न पुगेनन् । जसकाकारण पनि कलाकार संघको निर्वाचनमा कलाकार चिन्न नै कलाकारलाई मुश्किल परेको थियो ।

