एक्शन स्टार निखिल उप्रेती प्रायः फिल्ममा पुलिस अफिसरको भुमिकामा भेटिन्छन् । अन्य रोल नपाएकोले पुलिस मात्रै बन्नुपरेको बोल्ने बताउने निखिलले नयाँ फिल्ममा पनि सोही भूमिकामा अभिनय गर्न लागेका छन् । निखिल पुलिस बनेर अभिनय गर्न लागेको फिल्म ’संरक्षण’को सोमबार औपचारिक घोषणा गरियो ।
मधेशमा पछिल्लो केहि महिनायता चर्किरहेको आन्दोलनको कथा उठाईने तथा राष्ट्रभावको कथा बोल्ने यो फिल्मले पावर, पोलिटिक्स, पुलिस, प्रेस र पब्लिकको कथा बोल्ने बताईएको छ । जहाँ निखिलले आफु कर्तव्यनिष्ठ प्रहरी अफिसरको भुमिकामा देखिने बताए ।उनको भूमिका फेरि एकपटक प्रहरी अधिकृत रमेश खरेलबाट प्रभावित भएको बताईएको छ ।
त्यस्तै पहिलो पटक निखिलसँग स्क्रिन सेयर गर्न लागेका सौगात मल्ल पनि यो फिल्ममा ’डिएसपी थारु’को भूमिकामा देखिनेछन् । ’संरक्षण’मा यी दुई कलाकारसँगै मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतको अभिनय रहनेछ ।तराई तथा मधेश क्षेत्रमा छायांकन हुने यो फिल्मलाई पुणेन्द्रुकुमार झाको निर्देशन रहने छ । प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहने यो फिल्म माघको दोश्रो हप्ताबाट फ्लोरमा जानेछ ।

