चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागी चलिरहेको साधारणसभा तथा निर्वाचन कार्यक्रमले शनिबार दिनभरजसो प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबको हल गरमागरम बन्यो ।
नाम चलेका पुराना स्टारहरुदेखी नयाँ पुस्ताका कलाकारहरुले राम्रै चासो दिएर चुनाबी मैदानमा उपस्थित देखिए । आफ्नो संस्थाको नेतृत्व चयनको लागी कलाकारहरुले देखाएको जोश र जाँगर अनुकरणिय देखिन्थ्यो ।
११ बजेबाट सुरु भएको उद्घाटन सत्रदेखी मतदान र मत परिणाम सार्वजनिकको समयसम्म कलाकारहरु आ(आफ्नो निकटका मानिने उमेद्वारहरुको पक्षमा लबिङ गर्नमा व्यस्त देखिन्थे भने उमेद्वारहरु एक मत मात्रै भए पनि बढोस भन्दै हरेकजसो मतदातालाई हात जोड्दै आफ्नो एजेण्डासहित मत माग्नमा व्यस्त बने ।
यसमा पनि अध्यक्षका दुई प्रत्यासी रामकेशर बोगटी र लय संग्रौलाको दौडधुप व्यापक हेर्न लायक थियो भने अन्य पदका उमेदवारहरु पनि उत्तिकै लागेका देखिए ।निर्वाचनको क्रममा पहिलो मत बरिष्ठ कलाकार द्वय मदनकृष्ठ श्रेष्ठ र हरिवंश आचार्यले दिएका छन् । चर्चित कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, आर्यन सिग्देल लगायतले पनि मत हालेका थिए ।

