भोलि सम्भवतः कलाकार संघले नयाँ कार्यसमिति पाउनेछ । अक्ष्यक्ष सहितको ११ सदस्यीय कार्यसमितिमा आफ्नो स्थान कब्जा गर्न केही चिनिएका र धेरै नचिनिएका कलाकार चुनावी मैदानमा छन् । तर अन्य चुनावमा झैं सबैको ध्यान अक्ष्यक्ष पदमै टिकेर बसेको छ ।यो पटक अक्ष्यक्षका लागि लय संग्रौला र रामकेशर बोगटी मैदानमा छन् । दुवैले लामो समयदेखि अक्ष्यक्षको कुर्सीमा बस्न होमवर्क पनि गरिरहेका छन् । त्यसैले पनि अक्ष्यक्षका लागि बोगटी र संग्रौला बीच कडा टक्कर भईरहेको अवस्था छ ।
कलाकार संघको चुनावमा राजनीतिक पार्टीको छायाँ परेको भनेर पछिल्लो समय केही कलाकारले टिप्पणी गरिरहेपनि अध्यक्षका प्रत्यासीहरुले चुनावलाई प्रतिष्ठाको विषय बनाएको देख्न सकिन्छ । त्यसैका लागि उनीहरुले पार्टीको फेर समाउन कुनै हिच्किचाहट देखाएका छैनन् । बाहिर आए अनुसार लय संग्रौला एमाले र एमाओवादीको साझा उमेदवारको रुपमा मैदानमा छन् भने बोगटी कांग्रेसको उम्मेदवारको रुपमा ।
यदि कलाकारले फ्लोर क्र्रस नगर्ने हो भने दुईटा पार्टीका कलाकारको जमघटले लय संग्रौलाको पल्ला भारी जस्तो देखिन्छ तर बोगटीको पक्षमा कलाकारले फ्लोर क्रस गर्ने सम्भावना पनि उत्तिकै छ । किनकी रामकेशर बोगटी अक्ष्यक्ष पदका लागि लामो समयदेखि अभ्यास गरेको र उनकै पहलमा धेरैले नयाँ सदस्यता लिएका कारण पनि बोगटीले संग्रौलालाई कडा टक्कर दिने निश्चित छ । किनकी नयाँ सदस्यले रामकेशर बोगटीलाई मत दिने ज्यादा सम्भावना छ । त्यसमाथि बिकास बोर्ड अध्यक्ष राजकुमार राईले पनि आन्तरिक रुपमा बोगटीलाई जिताउन भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
केही दिन अघि मात्र भएको प्राविधिक संघको चुनावमा पुष्कर लामाको पक्षमा परिणाम आउनमा राईको सक्रियताको ठूलो भूमिका थियो । राईले फिल्म सम्बद्ध संस्थाहरुमा आफ्नो पकडका मानिसहरु ल्याउने र विकास बोर्डबाट महत्वपूर्ण मुद्धाहरुमा सजिलै समर्थन प्राप्त गर्ने हिसाबले संस्थामा आफू अनुकुलका मानिसहरु ल्याउने प्रयत्न गरिरहेका छन् । उनै राजकुमार रामकेशरको पक्षमा रहँदा अक्ष्यक्ष पदमा उनको दाबेदारी बलियो देखिन्छ । लय संग्रौलाको पक्षमा वर्तमान अध्यक्ष नवल खड्का पनि खुलेर लागेकाले उनको पक्षधरताले पनि संग्रौलालाई केही फाइदा अवस्य नै पुग्नेछ ।
अध्यक्षको रुपमा बोगटीले कलाकार सघको आफ्नै भवनलाई मुद्धाको रुपमा अगाडि ल्याएका छन् । संग्रौलाले अगाडि ल्याएका बीमा र व्यवसायिकताका अमूत मुद्धा भन्दा कलाकारले भवनको मुद्धामा ज्यादा सान्ध्यिता भेटन् सक्छन् त्यसैले पनि कलाकारले बोगटीलाई नै मत दिने सम्भावना देखिन्छ ।
तर जसले जे जस्तो प्रतिवद्धता जनाएपनि कार्यन्वयनको लेबलमा जाँदा कसले कति गर्छ थाहा भईहाल्छ । यसअघिका अक्ष्यक्ष नवल खड्काले पनि चुवावका बेला त्यस्ता थुप्रै प्रतिवद्धता जनाएका थिए तर उनको कार्यकालभरि मैनबत्ति जलाउने, बागमति सफा गर्ने र माग पेश गर्ने बाहेक कलाकारका लागि कुनै ठोस काम भएका थिएनन् ।

