थिएटरबाट आएका कलाकारको प्रवेशसँगै नेपाली फिल्ममा मुख्य कलाकारले भन्दा सह-कलाकारको अभिनयले दर्शक टिकाएका छन् । पछिल्लो समय रिलिज भएका केही फिल्मले यस्तै संकेत गरेका छन् ।
केही दिन अघि रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’ले मारामार व्यापार गर्यो । अघिल्लो फिल्ममा दमदार अभिनय गरेका दयाहाङ यसको सिक्वेलमा उति असरदार छैनन् बरु फिल्म भित्र सह-कलाकार विजय बराल र बुद्धि तामाङको अभिनयलाई धेरै दर्शकले सिक्वेलको राम्रो पक्ष भनेर टिप्पणी गरेका छन् । अभिनयमा खुंखार मानिएका सौगात मल्लले भन्दा ‘कबड्डी’ सिक्वेलमा विजय र बुद्धिको कामको प्रशंसा भईरहेको छ ।
त्यसो त ‘लुट’मा दयाहाङ राईको दृश्य सौगातको भन्दा निकै कम थियो । तर पाएका दृश्यमा दयाहाङले यति राम्रो काम गरेकी सौगातसँगै दयाहाङले पनि चर्चा कमाए । फिल्म ‘होस्टल रिटन्र्स’ मा पनि मुख्य हिरो सुशील श्रेष्ठ भन्दा सह-कलाकारहरु नाजिर हुसैन, अभय बराल र सुनिल सिटौलाले जस पाए । फिल्ममा उनीहरुको अभिनयले नै फिल्मलाई बचाएको थियो ।
फिल्म ‘चंखे शंखे पंखे’मा पनि सानो भूमिकामा देखिने प्रमोद अग्रहरी बाँकी कलाकारमाथि हावी छन् । उनको अभिनयले फिल्मका बाँकी कलाकार छायाँमा परेका छन् । यदि ति फिल्मबाट सहकलाकार निकादिदिने हो भने ति फिल्मको परिणाम सायद अर्के हुन सक्थ्यो ।
पछिल्लो समय सानो तिनो भूमिकामा काम गर्ने कलाकारले राम्रो अभिनय गरिदिँदा सह-कलाकारले पनि मुख्य कलाकारले झैं फिल्ममा गतिलो कथा पाउन थालेका छन् ।

