जब, कुनै फिल्म हलमा गएर पैसा तिरेर हेर्नुपर्छ, त्यतिबेला दर्शकले आफ्नो विवेक प्रयोग गर्छन् । कुन फिल्म हेर्ने वा कुन नहेर्ने भन्ने अधिकार दर्शकको हो । यसमा कुनै फिल्मीकर्मीले जर्वजस्ती गर्न मिल्दैन । तर, यो कुरा जानेर पनि नेपाली फिल्मका कलाकार र निर्माता कहिले दर्शकलाई त कहिले पत्रकारलाई आरोप लगाएर आफ्नो भडास निकाल्छन् ।
अभिनेत्री पूजना प्रधान अहिले दर्शकसँग फिल्म ‘चकलेट’ नचलेकोमा भडास पोखिरहेकी छिन् । उनले राम्रो फिल्म बनाएपनि यहाँ झुर फिल्म चल्ने रैछ भन्दै दर्शकसँग आक्रोश पोखिन् । यतिमात्र होइन उनले फेसबुक पनि चलाउदिन भनेर घुर्की लगाएकी छिन् । पूजनाको यो आक्रोश यतिकैमा रोकिएको छैन । उनले फेसबुकमा फिल्म हेर्नुहोस् भन्दा नहेर्ने अनि अहिले त्यस्ता व्यक्तिसँग फेसबुकमा गफ गरेर समय खेरा फाल्नुको के अर्थ भन्दे आक्रोश पोखेकी छिन् ।
उनले आफूले ५० जना बालबालिका पाल्ने योजना बनाएको भन्दै दर्शक लोभ्याउने प्रयत्न गरेकी थिइन् । तर दर्शकलाई उनको योजनाले खासै लोभ्याएनछ । दर्शक फिल्म हेर्न गईदिएनन् तर दर्शकले फिल्म नहेरेर आफ्नो समाजसेवा नरोकिने भन्दै दर्शकलाई घुर्काएकी छिन् ।अभिनेत्री शुभेच्छा थापाले फिल्म‘ मिस नेपाल’ नचले सन्यास नै लिने बताइन् । दर्शकले उनलाई सन्यासबाट बचाउन फिल्म हेरिदिनु पर्ने थियो । शुभेच्छाको यो कुरा दर्शकलाई खासै हजम भएन । फिल्मले औषत व्यापार ग¥यो । अहिले पनि शुभेच्छा सक्रिय छिन् । उनको यो दर्शकप्रतिको आक्रोश पनि बेतुकी थियो । कुनै दर्शकलाई जर्वजस्ती मेरो फिल्म हेरिदेउ भन्नु कलाकारको नालायकी हो ।
अभिनेता छविराज ओझाले पनि फिल्म ‘लोफर’ नचलेपछि दर्शकप्रति घुर्काइ पोखे । फिल्म ‘लज्जा’ पनि नचले फिल्म नै नबनाउने उनको भनाई थियो । तर, यस्ता कुरा गर्दा दर्शकको मनमा माया पलाउछ र फिल्म चल्छ भन्ने सोच फिल्मीकर्मीको छ । यस्ता सोचले दर्शकले माया दिने होइन, उल्टै भड्किन्छन् भन्ने उनीहरुले वुझ्न जरुरी छ ।
फेसबुकमा देखिएका लाखौ लाइक गर्ने सबै फिल्म हेर्न आउँछन् भनेर आफूलाई सेलिब्रेटी सोच्नु पनि गलत हो । फेसबुकमा च्याटमा फिल्म हेर्छु भन्ने र कमेन्ट गर्नेहरुले हेरिदिएनन् भनेर घुर्की लगाएर के फाइदा छ । आफूले राम्रो फिल्म बनाएर राम्रो मार्केटिङ गरेको खण्डमा सफल भइन्छ भन्ने फिल्मीकर्मीले कहिले वुझ्ने ? अरुलाई चोर औंला देखाईरहँदा बाँकी औंलाले आफूलाई देखाईरहेछन् भन्ने पनि बुझ्ने हो कि ?

