अभिनेता दिक्पाल कार्कीले आफू अभिनित फिल्म 'च्याम्पिएन'को गीत रिलिज भएको भन्दै आपत्ती जनाएका छन् । दिक्पालले आफ्नो फेसबुकमा आक्रोश पोख्दै फिल्मको गीत युटुबमा सार्वजनिक गर्दा आफूलाई कुनै जानकारी नै नदिइएको लेखेका छन् ।
दिक्पालले निर्देशक र निर्माताको मनमा निखिल उप्रेती नै रहेको हुनसक्ने भन्दै आफूलाई राख्नु परेकोमा पश्चाताप लागेको होला भन्दै प्रश्न गरेका छन् । यो फिल्ममा निर्देशक बिबी फुयाँल र निर्माता कृष्ण पोख्रेलले सुरुमा निखिललाई लिने चर्चा थियो । तर, पछि निखिलले काम नगरेपछि दिक्पाल फिल्ममा छनोट भएका थिए ।
दिक्पालको कुरा यतिमा मात्र सिमित छैन । उनले आफूले मोडलिङमा एउटा छुट्टै पहिचान बनाएको भन्दै शम्भु प्रधान जस्तो कलाकारसँग काम गरेकाले 'च्याम्पिएन'का निर्माता र निर्देशकसँग काम गर्नु ठूलो उपलब्धी नभएको पनि बताएका छन् ।
दिक्पालले गीत युटुबमा सार्वजनिक गरेको बारेमा आफूलाई थाहा नभएको बताएपनि नेपालमा युटुबमा गीत सार्वजनिक गर्दा हरेक कलाकारलाई जानकारी गराउने चलन छैन । कुनै कार्यक्रम गरेर गीत सार्वजनिक गरेको भए सायद निर्माता र निर्देशकको गल्ती देखिन्थ्यो ।
जे होस्, उदाउँदो क्रममा रहेको नेपाली क्रिकेटको कथालाई जोडेर बनाईएको फिल्म 'च्याम्पियन'को 'मन पराउँछु तिमीलाई' बोलको सार्वजनिक गीतमा दिक्पाल र मञ्जिता केसीको अभिनय छ । गीतमा स्वर तथा संगीत टंक बुढाथोकीको छ । टंकलाई मनिषा पोखरेलले स्वरमा साथ दिएको उक्त गीतको शब्द फिल्मका निर्माता कृष्ण पोखरेलले लेखेका हुन् ।

