अभिनेत्री पूजना प्रधानले आफ्नो फिल्म 'चकलेट' नचलेको भन्दै दर्शकसँग गुनासो गरेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफूले राम्रो फिल्म बनाएको तर नचलेको स्विकार गरेकी हुन् ।

पूजनाले नेपालीलाई राम्रो कथाको राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्ने रहेछ भनेर आक्रोश पोखेकी छिन् । साथै उनले राम्रो मनले राम्रो कामका लागि फिल्म बनाएको तर दर्शकको साथ नपाएको लेखेकी छिन् ।
पूजनाको यो आक्रोश यतिमा मात्र सिमित रहेन । उनले आजदेखि फेसबुक पनि नचलाउने भन्दै यसैलाई अन्तिम स्टाटस भनेकी छिन् । निर्मल शर्माले निर्देशन गरेको यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । फिल्मले अपेक्षा गरे अनुसारको व्यापार नगरेको स्वयंम निर्माता प्रधानले बताएकी छिन् ।
फिल्मले सडक बालबालिकाको कथालाई पर्दामा देखाएको छ । फिल्मबाट उठेको सम्पुर्ण रकम ५० जना बालबालिकाको सहयोगार्थ खर्च गरिने पूजनाको भनाई थियो ।

