अभिनेत्री नीता ढुङ्गाना पछिल्लो समय फिल्म भन्दा पनि म्युजिक भिडियोमा मात्रै जस्तो व्यस्त छिन् । तीज आओस् या दशैं तिहार, हरेक पर्व विशेष बन्ने म्यूजिक भिडियोहरुमा उनको व्यस्तता निकै नै पाईन्छ ।
दुई बर्षजति पहिले बनेको 'छ एकान छ'पछि औसत विजनेश गरेको 'भूलभूलैया' बाहेक नीताका हिट फिल्म आएका छैनन् भने यो बीचमा उनले त्यती फिल्म गरेकी पनि छैनन् ।
एक समय नीताका लगातार फिल्म आउँथे, कुनै सफल हुन्थे त कुनै असफल । अहिले हलका पर्दामा उनको शून्यता छ । दिनेश डिसी निर्देशित 'फूलैफूलको मौसम तिमीलाई' बाहेक तत्काल रिलिज हुने उनका कुनै फिल्म पनि छैनन् । यसको कारण नीता अहिले 'चुजी' भएकी छिन् रे !
जस्तो पायो त्यस्तो फिल्म नगर्ने र राम्रो स्कृप्ट रोजेर मात्र काम गर्ने सोच बोकेकोले फिल्ममा त्यती नदेखिएको उनी निकट फिल्मकर्मी बताउँछन् । त्यसो त 'फूलैफूलको मौसम तिमीलाई'लाई ड्रिम प्रोजेक्ट जस्तै मानेकी नीताले सो फिल्मको प्रतिक्रिया हेरेर मात्र अन्य फिल्म गर्ने सोच समेत राखेको खुलाईन् ।
फागुनमा रिलिज हुने भनिएको यो फिल्म गत बर्ष नै रिलिज हुने भनिएको थियो । यता आर्यन सिग्देल र जीवन लुईंटेलको अभिनय रहने भनेर निर्माण घोषणा गरिएको फिल्म 'कर्मा'मा नीता देखिने कुरो आएपनि यो फिल्म बन्ने कहिले टुंगो नै छैन । त्यसैले नीता कुनै रिलिजको पर्खाईमा छिन् भने कुनै फिल्म कहिले बन्ला भन्ने पर्खाईमा ।
फिल्म सुटिङदेखि रिलिजसम्म आउन कम्तिमा १ बर्ष लाग्छ तर म्युजिक भिडियो १ हप्तामै तयार भएर बाहिर आउँछ । पैसा पनि हुने तत्काल प्रतिक्रिया पनि बटुल्न सकिने यो फाईदालाई नीताले नछाडेको हुनसक्छ । त्यसैले त उनी म्यूजिक भिडियोमा रमाईरहेकी छिन् ।

