Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

चुनाव नहुँदै नन्दिताको जीत | कलाकार संघको चुनावमा ३७ जनाको उमेद्वारी (नामावली सहित)

फिल्मीखबर, काठमाडौं, 2015/12/06
यही मंसिर २६ मा हुने भनिएको चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि दर्जनौं कलाकार आकांक्षी देखिएका छन् । पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार शनिबार उमेद्वारी दर्ताको लागी अन्तिम दिन तोकिएको थियो ।
 
संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा रामकेशर बोगटी, लय संग्रौला र बिशाल बिष्टले उमेद्वारी दिएका छन् । दुई उपाध्यक्ष पदको लागि ४ जनाको उमेद्वारी परेको छ । उपाध्यक्ष हुने आकांक्षीहरुमा मनोज केसी, रेजिना उप्रेती, शानुकुमार ताम्राकार र जेनी कुवंर छन् । 
 
त्यस्तै महासचिव पदको लागि सरिता लामिछाने, कृष्ण ढुंगाना र उत्तम केसीको उमेद्वारी परेको छ भने सचिवमा सञ्जय खतिवडा र चेतबहादुर सिंहको उमेद्वारी परेको छ । कोषाध्यक्षमा बिमला केसी र आकाश खवासको प्रतिस्पर्धा निश्चित हुँदा सह-कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी निर्विरोध बनेकी छिन् । उनको बिरुद्धमा कसैले पनि उमेद्वारी दर्ता गरेन । 
 
त्यस्तै १० सदस्य पदको लागि १९ जनाको उमेद्वारी परेको छ । २६ गते हुने निर्वाचनले २१ जनाको नयाँ कार्यसमिति चयन गर्नेछ भने १ जना उपाध्यक्ष र ३ जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्नेछ । यदी कसैले उमेद्वारी फिर्ता नलिएको खण्डमा ३७ जना उमेद्वारबीच मतदाताले आफ्नो अधिकार प्रयोग गरेर नयाँ कार्यसमिति छान्नेछन् ।
 
कलाकार संघको यो पटकको चुनाबमा ५ सय ७० जना मतदाता सहभागी हुने बर्तमान अध्यक्ष नवल खड्काले बताए । अनेकन विवादका बीच केहि महिना पहिले नै हुन लागेको निर्वाचन अन्तिम समयमा स्थगित परेको थियो । 
 
गैर कलाकारले सदस्यता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि स्थगित निर्वाचन विवाद साम्य भएर १ सय ४० जनाको सदस्यता छानबिनको प्रक्रियामा जाने र उनीहरुलाई मतदान अधिकार नदिने सहमती पश्चात निर्वाचनको नयाँ मिति तय भएको हो ।
Most Visited News (monthly)