प्रदर्शनमा आएको ७१ औं दिनमा फिल्म `वडा नम्बर ६` टिमले सफलता साँझ मनाउँदै फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ खुशी साटेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फिल्मसँग जोडिएका सबैलाई मायाको चिनो प्रदान गरियो भने प्राविधिकहरुलाई बोनस समेत बाँडियो ।


बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हातबाट फिल्मसँग जोडिएका सबैले मायाको चिनो थापेका थिए । बिगतमा सफल फिल्महरुले ५१ औं दिन मनाउने परम्परा तोड्दै 'वडा नम्बर ६' युनिटले ७१ औं दिनमा खुशीयाली साटेको हो ।
कार्यक्रममा निर्देशक उज्जल घिमिरेसँगै लिड कलाकार प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई, दिपाश्री निरौला लगायतले कलाकारको तर्फबाट मायाको चिनो लिए भने सबैभन्दा बढी सेयर दिने हलहरु क्युएफएक्स, बिग मुभिज, गोपिकृष्ण र अष्टनारायण हललाई पनि मायाको चिनो प्रदान गरियो । त्यस्तै वितरकको तर्फबाट एफडी कम्पनि र गोपाल कायस्थले सम्मान थापे ।
यसअघि शुक्रबार दिउँसो एमाओबादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल लगायतलाई फिल्म देखाईएको थियो । 'छ एकान छ' नामक फिल्म बनाएर सफलता पाएको यो टिमले दोश्रो फिल्मबाट पनि सफलता चाख्यो । निर्माण युनिट अर्को नयाँ फिल्मको निर्माणमा जुट्ने कुरा जानकारीमा आएको छ ।

