अभिनेत्री रेखा थापाले केही दिन अगाडि नाकाबन्दीको बिषयमा किन बोल्नु भएको छैन भनेर संचारमाध्यमले सोधेको प्रश्नमा फेसबुकमा लेख्दैमा र सडकमा उत्रदैमा विरोध नहुने बताइन् । उनले मधेसका दलसँग आफूले वार्ता गरिरहेको समेत बताएर कुरा सुन्नेको गाली पनि खाइन् ।
नेपाली फिल्म क्षेत्रदेखि हाँस्य क्षेत्रमा समेत थुप्रा यस्ता कलाकार छन् जसले आफूलाई सेलिब्रेटी भन्न रुचाउछन् । तर, नेपालको यो बिशम परिस्थितीमा उनीहरुको भूमिका के भन्ने नै उनीहरुलाई थाहा छैन ।
भारतमा असहिष्णुताको मुद्दा उठिरहेको समयमा कलाकार अनुपम खेरले सहिष्णुताको पक्षमा र्याली नै निकाले । चेन्नइमा बाढीले विजोग बनाइरहँदा साहरुख खान, अमिताभ बच्चनदेखि थुप्रै बलिउड कलाकारले सहयोगको हात अगाडि बढाइरहेका छन् ।
तर, नेपालमा भने अघोषित नाकाबन्दी र मधेस र काठमाण्डौमा देखिएको दुरी कम गर्नका लागि सेलिब्रेटीको भूमिका शून्य जस्तै छ । आफूले जे गर्न सकिन्छ त्यही काम गरेर सेलिब्रेटीले अहम् भूमिका खेल्नुपर्ने हो, तर देखिएको छैन ।
अभिनेता राजेश हमाल अमेरिका गएको महिना दिन भैसक्यो । उनले देशको यो अवस्थामा कुनै पहल गर्नु त परको कुरा फेसबुकमा एक शब्द पनि राष्ट्रियताको बिषयमा लेखेका छैनन् । हमालको फेसबुकमा अमेरिका घुमेका तस्बिर र खाना खादै गरेका तस्बिर देखिन्छन् ।
हजारौ नेपाली जनता अहिले नाकाबन्दीका कारण दुई छाक खान नसकेर अप्ठ्यारोमा छन् र आफ्ना प्रिय कलाकारको आत्मियता खोजिरहेका छन् । कलाकारले बोल्दा त्यसको प्रभाव ठूलो पर्छ ।
फिल्मकर्मीले आयोजना गरेका राष्ट्रिय जागरण अभियानका २ कार्यक्रममा नेपालका चलेका कलाकार नै देखिएनन् । उनीहरुले न सडक र्यालीमा सहभागी हुन आवश्यक ठानेनन् । यस्ता कार्यक्रम त चलेका कलाकार आफैले पनि आयोजना गर्न सक्नुपथ्र्यो । तर, यस्तो देखिएको छैन ।
सेलिब्रेटीको भूमिका फिल्ममा अभिनय गर्नु मात्र होइन । समाजप्रतिको दायित्व पनि पुरा गर्नु हो । तर, देशको यो परिस्थितीमा नेपाली कलाकारले जनतालाई आह्वान समेत गर्न सकेका छैनन् । तर, जतिले आफ्नो तर्फबाट सहयोग र अपिल गरेका छन्, त्यो प्रशंसनिय छ ।

