माघ महिना नेपाली फिल्मको लागी फाप्ने बर्षको रुपमा पनि लिईन्छ । यो महिनामा हरेक बर्षजसो धेरै निर्माता निर्देशक फिल्म रिलिज गर्न मरिमेट्छन् । एकआपसमा भिड्छन् जसमा कोही पछारिन्छन् भने कोही पैसा कुम्लाएर फुर्तीफार्ती देखाउँछन् ।
यो बर्षपनि केहि ठुला ब्यानरका फिल्मको घम्साघम्सी हुने पक्का देखिएको छ । जहाँ स्टार मानिने आर्यन सिग्देलदेखि जीवन लुईंटेल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारहरु र केहि नयाँ अनुहारहरुसँग समेत बिजनेशमा प्रतिस्पर्धा गर्दैछन् ।
माघ १ मा 'फन्को' रिलिज हुँदैछ । ट्रेलरले राम्रो रिभ्यु पाएको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल लगायत अभिनय गरेका छन् । सोही मितिमा जीवन लुईटेल स्टारर 'काफल पाक्यो' पनि रिलिज हुने बताईएको छ । यस्तै आर्यन सिग्देललाई फरक गेटअपमा देखाईएको गोपिकृष्ण मुभिजको 'होमवर्क'पनि यही मितिमा आउने गाईंगुईं छ ।
माघ ८ मा अहिले नै कुनै ठुलो फिल्म आउने कुरा बाहिरिएको छैन । त्यसपश्चात माघ १५ मा 'टलकजंग भर्सेज टुल्के'का चर्चित कलाकार खगेन्द्र लामिछानेको 'पशुपति प्रसाद' रिलिज हुँदैछ । यो फिल्मलाई केहि आशाको रुपमा लिईएको छ । गत सोमबार प्रेसमिट गर्दै 'कैफियत' नामक फिल्म पनि सोही मितिमा भिड्ने जानकारी निर्माण टिमले दिएको छ ।
त्यस्तै माघ २२ मा जीवन लुईंटेल स्टारर 'रिफ्युजी' र राजु गिरीको 'बिन्दास ३' रिलिज हुने बताईएको छ भने माघ अन्तिम साता २९ गते तीन फिल्मको घमासान हुने देखिएको छ । भ्यालेन्टाईनको छेकोमा तीन फिल्म 'क्लासिक', 'प्रेम गीत' र 'चलेछ बतास सुस्तरी' रिलिज हुने पक्कापक्की भएको छ ।
कोही पनि पछि नहट्ने बताईरहँदा यो मिति ऐतिहासिक बन्ने निश्चित छ । किनकी तीनवटै फिल्मको सांगितिक पक्षलाई बढी प्राथमिकताका साथ लिईएको छ । यि मध्ये दुई फिल्म 'प्रेम गीत' र 'चलेछ बतास सुस्तरी'को भिडियो गीत रिलिज भईसकेको छ भने 'क्लासिक'को अडियो गीत रिलिज गरिएको छ ।
उल्लेखित फिल्म, स्टार र ब्यानरलाई मध्यनगर गर्ने हो भने माघ महिना रिलिज हुने सबै फिल्मले दर्शक तान्न हानथाप गर्दैगर्दा सबैलाई घाटा हुने पनि देखिन्छ । तर, जुन फिल्म राम्रो बन्छ, जसले मन जित्छ दर्शक पक्कैपनि त्यतै घकेलिनेछन् । सबै फिल्म सफल रहुन्, शुभकामना !