नाकाबन्दी र त्यसपश्चात उत्पन्न इन्धन अभावको बाबजुत धेरै फिल्मको छायाँकन प्रभावित भईरहँदा फिल्म 'गाजलु' युनिट भने फ्लोरमा गएको छ । ४५ दिनमा छायाँकन सकाउने लक्ष्यसहित यो फिल्मको सोमबारबाट छायाँकन सुरु गरिएको हो ।

पहिलो चरणमा काठमाडौंमा यो फिल्मको छायाँकन हुनेछ । फिल्मको लागी युवा स्टार अनमोल केसीले मैतिदेवीमा पहिलो दृश्य क्यामेरा कैद गराए । प्रेमकथा बोल्ने यो फिल्ममा पोखरेली युवा रोहित अधिकारीले लगानी गरेका छन् भने निर्देशक हेमराज बिसी हुन् ।
फिल्ममा काठमाडौंसँगै भक्तपुर तथा दामनका दृश्यहरु समावेश हुने निर्माता अधिकारीले बताए । 'गाजलु'मा अनमोलले पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठसँग रोमान्स गर्दैछन् । यी दुईसँगै सलोन बस्नेत, मेनका प्रधान, गौरव पहारी, गौरी मल्ल लगायतको पनि अभिनय यो फिल्ममा रहनेछ ।
दर्शकले कस्तो फिल्म खोज्छन् भन्ने भावना बुझिसकेकोले सोही प्रकारको फिल्म 'गाजलु' बन्ने भन्दै मेकिङमा कुनै प्रकारको कन्जुस्याईं नगर्ने निर्माता अधिकारीको दाबी छ ।

