नाम चलेका बलिउड कलाकारका प्रायः फिल्म रिलिज हुँदै गर्दा नेपालमा पनि बलिउडको हावाले छुन्थ्यो । नेपाली मल्टिप्लेक्स हलहरु बलिउडका स्टारको फिल्म रिलिज हुने दिन पर्खेर बस्थे, अनि पैसा कुम्लिने सपना बोक्थे ।
गत शुक्रबार बलिउडका दुई स्टार कलाकार दिपिका पादुकोण र रणविर कपुरको फिल्म 'तमाशा' रिलिज हुँदै गर्दा भने यो अबस्था आएन । 'तमाशा'सँगै नेपाली फिल्म 'कबड्डी कबड्डी' रिलिज भयो । बिजनेशदेखि दर्शकको संख्यात्मक साथ तथा शोहरुमा पनि पकड जमाउन नेपाली फिल्म सफल भयो ।
धेरैजसो नेपाली फिल्मलाई प्रदर्शनको अबसर नै नदिने तथा दिँदै गर्दा पनि ४ देखि ५ शो पनि दिन कन्जुस्याईं गर्ने मल्टिप्लेक्स हल सञ्चालकहरुले यो हप्ता नेपाली फिल्मलाई १४ शो दिए भने बलिउड फिल्मलाई जम्मा ११ शो ।
दिपिका र रणविरभन्दा पनि दयाहाङ राई र सौगात मल्लको फिल्म हेर्न हलमा दर्शक बढी आए । नेपालीपन बोकेको मौलिक कथाको 'कबड्डी कबड्डी'ले पहिलो सातामा नै लगानी उठाउने सम्भावन बढेको छ ।
शुक्रबार र शनिबारका सबै जसो शोहरु हाउसफुल भएसँगै नेपाली फिल्ममा दर्शक आएर दीपिका र रणविरलाई नै तमाशा देखाईदिँदा यो फिल्मको नेपाल प्रदर्शन अधिकार किन्नेहरु कुनामा पसेर पक्कै पुर्पुरोमा हात लगाउँदै होलान ।
फिल्म किनेर बिजनेश गर्नेहरुको कुरा बिजनेश गर्नेले नै जानुन् । हाम्रो भन्नु यही हो कि राम्रो बन्दै गर्दा नेपाली फिल्ममा पनि दर्शक आउँछन् । बलिउड फिल्मले मात्रै करोडौं बिजनेश गर्ने होईन, यस्तो क्षमता नेपाली फिल्मसँग पनि छ ।

