शुक्रबार रिलिज भएको फिल्म 'कबड्डी कबड्डी'ले दुई दिनमा करोड बढि ग्रस कलेक्शन गरेको वितरण कम्पनि पपकर्न पिक्चर्सले दाबी गरेको छ ।
काठमाडौंका मल्टिप्लेक्समा सबै शो हाउसफुल भएको यो फिल्मले दुई दिनमा नै करोड बढीको बिजनेश गरेको पपकर्न प्रमुख माधव वाग्लेले बताए । उनका अनुसार फिल्मले रिलिजको पहिलो दिन काठमाडौंमा ४० लाख बढीको ग्रस कलेक्शन गरेको थियो ।
माधवको भनाई मान्ने हो भने 'कबड्डी कबड्डी'ले शनिबार मात्रै ६० लाख बढीको बिजनेश गर्यो । राजधानीका मल्टिप्लेक्समा राम्रो शो पाएपनि काठमाडौं बाहिर भने यो फिल्मले हल नै धेरै पाएको अवस्था छैन । 'जहाँ लागेको छ, त्यहाँ बिजनेश धेरै राम्रो छ', वाग्लेले बताए ।
रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, रिष्मा गुरुङ, बिजय बराल लगायत लिड रोलमा छन् ।

