बलिउड अहिले आउँदो डिसेम्बर १८ हुने दुई फिल्म बीचको भिडन्तका कारण तातिएको छ । डिसेम्बर १८मा वर्षकै दुई ठूला निर्माता निर्देशकको भिडन्त हुने भएपछि सबैको ध्यान त्यता तानिएको हो । सो मितिमा शाहरुख खान काजोलको अभिनय र रोहित शेठ्ठीको निर्देशन रहेको ‘दिलवाले’ र रनवीर सिंह, प्रियंका चोपडा र दीपिका पादुकोनको अभिनय र संजय लिला भंसालीको निर्देशन रहेको ‘बाजीराव मस्तानी’ प्रदर्शन हुँदैछन् ।
तर यो भिडन्त स्वाभाविक भने हैन । किनकी केही अघिसम्म पनि ‘बाजीराव मस्तानी’ डिसेम्बर १८ मा र ‘दिलवाले’ २५मा आउने तरखरमा थिए । तर ‘बाजीराव मस्तानी’का वितरकले ‘दिलवाले’लाई सिंगल थिएटरमा २५ मा पनि हल नदिने तानाबाना बुनेपछि शाहरुखले पनि १८मै फिल्म रिलिज गर्ने अड्डी कसेपछि दुवै फिल्म भिड्न बाध्य भएका हुन् ।‘मस्तानी’ वितरक मध्ये एक वितरकले २५मा पनि फिल्म नउतार्ने सम्झौता गरे फिल्म दिने नत्र नदिने भनेर शर्त राखेपछि सो कुरा शाहरुखको कानसम्म पुग्यो ।
त्यसपछि के थियो र ? शाहरुखले पनि १८मै फिल्म रिलिज गर्ने अत्तो थापे । शाहरुखले नयाँ मिति घोषणा गर्ने बित्तिकै संजय लिला भंसालीले रिलिज मिति हेरफेर गर्छन् भन्ने शाहरुखको अनुमान थियो । तर भन्साली पनि डेग चलेनन् । फलतः दुवै फिल्म एकै दिन रिलिज हुने संघारमा छन् । तर शाहरुख र काजोलको जोडी लामो समयपछि पर्दामा देखिन लागेकाले ‘दिलवाले’ भन्सालीको फिल्ममाथि भारी हुने धेरैको अनुमान छ ।

