अभिनेता दीपक राज गिरीले मधेशी नेता उपेन्द्र यादवलाई फेसबुकबाट चिठ्ठी लेख्दै धोती हैन आफूलाई सिरक मान्न आग्रह गरेका छन् । उनले लेखेका छन्,‘आदरण्ीाय उपेन्द्र यादवजी तपाइँले भन्नु भएछ, हामीलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको धोती चाहियो ! हुन त तपाइँ मभन्दा धेरै बौद्धिक मान्छे । म त सामान्य कलाकार मात्रै हूँ, तर तपाइँको भनाईमा तपाइँ कहाँ चुक्नु भयो भने २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइँकै होइन र ?
उनले पहाडमा पनि मधेशीलाई उत्तिकै सम्मान गरिने दृष्टान्त दिँदै मधेशीलाई कहिले पनि तिरस्कार नगरेको बताएका छन् । उनले लेखेका छन्,‘केहि अबुझहरूलाई छोड्ने हो भने अहिले पहाडमा मधेसीलाई सम्मानै गरिन्छ, तपाईँ परराष्ट्रमन्त्री हुँदा पनि हामीले ‘मधेसको परराष्ट्र मन्त्री’ को हिसाबले बुझेनौ ।रामवरणजी, परमानन्दजीलाई राष्ट्रपतिको हिसाबमा झुकेर सलाम गर्याैं। मेरो र मेरी छोरीको कति साथिहरू मधेसी छन् , घरमा आउँदा कहिले मधेसी आएको होइन आफन्त नै आएको व्यवहार प्रस्तुत गर्ने गर्छौँ ।अहिले राज्य बाँडफाडमा पनि लगभग सबैका भागमा ७, ८ जिल्ला नै परेको अवस्थामा तपाइँलाई यो ८ जिल्ला कछाड लाग्यो ?
हामी पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ । सबै मधेसीलाई एउटै मधेस, सबै पहाडियालाई एउटै पहाड चाहिएको थियो भने संघियतामा जाने निर्णय किन गर्नु भयो ? एउटै नेपाल (सिरक र डस्ना) नै थियो नि ! आफ्नो पवित्र भूमि, जहा‘ जानकी मन्दिर पनि पर्छ । त्यसलाई कछाड र लगौंटी जस्ता तुच्छ वस्त्रसँग तुलना नगर्नुस् ।’
उनले फेसबुकबाट आग्रह गर्दै आफ्नो अधिकारको लडाईं लडिरहँदा जनताको अधिकारको पनि ख्याल गरिदिन आग्रह गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘के संविधान यी दुख पाउने जनताले लेखेका हुन् ? तपाईँहरूले नै लेख्नु भएको हो । असफल हुनु भएको भए पनि तपाइँ नेताहरू नै भएको हो । असफल हुने तपाइँहरु, सजाय पाउने जनता ? यो कस्तो बिडम्बना हो ? ’

