हुन त अभिनेता आर्यन सिग्देललाई रेखा थापा बाहेक अरु खासै फापेका थिएनन् । आर्यनको जीवनका केही हिट फिल्ममा रेखा अपोजिटमा छिन् । रेखासँग झगडा परेपछि आर्यन लामो समय हिट फिल्म बिहिन रहे । पछिल्ला वर्षमा त आर्यनले अपेक्षा गरेका फिल्मले नराम्रो झड्का दिएका छन् । यस्तोमा अझ दशैंको समयमा रिलिज भएका आर्यनका फिल्मको व्यापार त झनै चौपट भएका उदाहरण छन् ।
दुई साल अघि दशैंकै छेकोमा आर्यनको दमदार भूमिका भनिएको ‘धुवाँ : यो नशा’ रिलिज भएको थियो । राम्रै प्रचार प्रसार समेत भएको फिल्मबाट आर्यनले राम्रै अपेक्षा राखेका थिए तर फिल्मले पानी पनि भनेन । निर्माता कोरिया पलायन भए । यो साल पनि दशैंमा खुबै व्यापार गर्ने अपेक्षा साथ रिलिज भएको ‘सुश्री’ले पनि आर्यनको हिट फिल्मको तिर्खा मेटाएन । रिलिज भएका चार वटा फिल्म मध्येमा ‘सुश्री’को व्यापार कमजोर रहेको हलवालाको भनाई छ । यसले आर्यनलाई दशैं नफापेको प्रस्ट पार्छ ।
तर आफू अभिनित फिल्मको लगातारको असफलतालाई आर्यनले अब गम्भिर भएर विश्लेषण गर्नु पर्ने बेला भएको छ । आर्यन नेपालमा उपलब्ध केही सक्षम अभिनेता मध्ये पर्छन् । उनीसँग काम गर्ने हरेक निर्देशक आर्यनको यो खुबीको कायल छन् तर न त निर्देशकले आर्यनको यो खुबी पर्दामा निकाल्ने कष्ट गर्छन् न त आर्यन नै निर्देशकलाई प्रेरित गर्छन् । फलतः आर्यनको खातामा धमाधम फ्लप फिल्मको चाङ थुप्रँदै गएको छ र निर्माताहरु नयाँ अभिनेताको खोजीमा अग्रसर हुन थालेका छन् ।

