बलिउडसँगै नेपालमा समेत प्रतिक्षित रहेको हिन्दी फिल्म ‘प्रेम रतन धन पायो’ नेपालमा रिलिज हुने सम्भावना अनिश्चित बनेको छ । तराईमा जारी बन्द तथा फिल्मको वितरणका लागि तिर्नुपर्ने महंगो रकमका कारण फिल्मको नेपाल रिलिज अनिश्चित भएको हो ।
तराईमा विगत ७२ दिनदेखि मधेसवादी दलले विभिन्न माग राख्दै अनिश्चितकालिन बन्द जारी राखेका छन् । यही बन्दका कारण ‘भैरव’,‘वडा नं ६’ जस्ता फिल्म तराईमा रिलिज भएका थिएनन् । यो बीचमा ठूलो मूल्यका हिन्दी फिल्म पनि रिलिज भएका थिएनन् । तर ‘प्रेम रतन धन पायो’ महंगो मूल्यको हिन्दी हो ।
स्रोतका अनुसार नेपालका लागि फिल्मको मूल्य १ करोड २५ लाख तोकिएको छ । गोपीकृष्ण समूहले फिल्म किन्ने ईच्छा देखाईरहेको भएपनि तराई बन्दका कारण हच्किएको छ । करोड भन्दा बढी मूल्य तिर्ने तर तराईमा फिल्म रिलिज नहुँदा लगानी उठाउन गाह्रो पर्ने अनुमान गर्दै गोपीकृष्ण महंगो मूल्यमा फिल्म वितरण अधिकार तिर्न हच्किएको स्रोत बताउँछ ।
‘विवाह’ निर्देशन गरेको सात वर्षपछि निर्देशनमा फर्किएका सुरज बडजात्याले निर्देशन गरेको फिल्मलाई राजश्रीकै पछिल्लो समयको महंगो फिल्म मानिएको छ । सलमानको दोहोरो भूमिका रहेको फिल्ममा सोनम कपुर, नीलनितिन मुकेश आदि कलाकारको अभिनय रहेको छ । फिल्म यही तिहारको अवसरमा रिलिज हुन लागेको हो ।

