११ वर्षीय सन्जोज पराजुली विगत लामो समय देखि ब्लड क्यान्सरसँग लडिरहेका छन् । डाक्टरहरुका अनुसार उनको क्यान्सर लगभग अन्तिम अवस्थामा छ । कान्ति बाल अस्पतालमा क्यान्सरसँग लडिरहेका यिनै सन्जोगको ईच्छा थियो अभिनेता अनमोल केसीसँग भेट्ने । अनमोलको ‘होस्टल’ र ‘जेरी’ हेरेका सन्जोग ज्यादा जसो समय यिनै फिल्म र गीत हेरेर बिताउने गर्दथे र बेलाबखत अनमोलसँग भेट्ने ईच्छा व्यक्त गर्दथे ।
अन्ततः आइतबार सन्जोगको त्यो ईच्छा पूरा भयो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको ‘जोन्ता’ नामक गैरसरकारी संस्थाले अनमोललाई कान्तिबाल अस्पताल पुर्याएपछि सन्जोगको अनमोल भेट्ने धोको पूरा भयो । अनमोलले सन्जोगसँगै अस्पतालमा भएका अरु क्यान्सर पीडित बालबालिकालाई पनि भेटे । पहिलो पटक सामाजिक काममा सरिक भएका अनमोलले क्यान्सर पीडित बालबालिकासँग केही क्षण बिताउन पाउँदा औधी खुशी लागेको बताए ।

‘मलाई साँच्चिनै खुशी लागेको छ । मैंले केही क्षण भएपनि उनीहरुसँग बिताउन पाएँ । मैंले गरिरहेको अभिनय कर्मले अर्थ पाएको अनुभव गरेको छु’ अनमोलले भने ।करिब १ घन्टा बालबालिकासँग बिताएका अनमोलले उनीहरुलाई चकलेट वितरण गरेका थिए । सन्जोगलाई भने अनमोलले ‘होस्टल’ फिल्ममा लगाएको लकेट दिएका थिए । सन्जोगले भने अनमोललाई अनमोलकै फिल्मका संवाद तथा गीत सुनाएका थिए ।

