अभिनेता आर्यन सिग्देल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । चक्लेटी नायकका रुपमा परिचित आर्यन चलचित्र ‘सुश्री’मा भने कमेडी भुमिकामा रहेको शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । करिब ७ महिना पछि आर्यन अभिनित चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
चलचित्र ‘सुश्री’ले रिलिजको पुर्ब सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम गरी निर्माण युनिटले फिल्म बारे जानकारी समेत गराएको छ । कार्यक्रममा निर्माता आत्मराम थापा,निर्देशक शिबम अधिकारी,कलाकार आर्यन सिग्देल,राजाराम पौडेल सहित निर्माण पक्ष उपस्थित थिए ।
कार्यक्रममा अभिनेता आर्यन सिग्देलले कमेडी भुमिकामा अभिनय गर्न पाउदा खुसी लागेको बताउदै चलचित्र ‘सुश्री’ राम्रो बनेकोले फिल्म हेर्न आग्रह समेत गरेका छन् । यसै गरी कलाकार राजाराम पौडेलले पनि पारिवारिक र राम्रो फिल्म बनेको दाबी गर्दै हेर्नु पर्ने तर्क राखे । उनले छायांकन समय स्मरण गर्दै थाहै नपाईकन छांयाकन सकिएको र सबै टिम मिलनसार रहेकाले अन्य फिल्ममा भन्दा ‘सुश्री’मा काम गर्न सहज र स्मरणिय रहेको अनुभब सुनाए ।
आर्यनको बुवाको भुमिकामा रहेका पौडेलले ‘नयाँ शैली’को दर्शन गर्ने तरिका आएको भन्दै ‘ट्रेलर’को प्रसंग समेत उठाए । उता निर्माणमा पहिलो पटक हात हालेका निर्माता आत्मराम थापाले आफ्नो फिल्म सबैले फरक र राम्रो बनेको भन्ने गरे पनि चलचित्र ‘सुश्री’ साँच्चै रा्म्रो र पारिवारिक फिल्म बनाएको भन्दै आम नेपालीले चलचित्र हेरी राम्रा चलचित्र निर्माणमा हौसला दिन अनुरोध गरेका छन् ।
साथै पछिल्लो समय पारिवारिक फिल्म हेर्न बाट बन्चित बनेका दर्शकका लागि पर्याप्त मनोरन्जन मिल्ने भन्दै टिकटको पैसा खेर नजाने दाबी समेत गरे । केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट सबै उमेरका दर्शकले बिना रोहबर फिल्म हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाण पत्र प्राप्त गरेको छ ।
आशिका फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा आर्यन सिग्देल,आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रले स्वतन्त्र बिहेको कथालाई मुख्य बिषयका रुपमा उठाएको छ ।

