चैत्र २६ मा प्रदर्शन मिति तोकेर छायांकनमा गएका २ फिल्मको छायांकन सकिएको छ । फिल्म नाई नभन्नु ल ४ को निर्देशक विकास आचार्यले एक गीत खिच्दै वुधबार इन्डक्ल्याप गरेका हुन् । विकास आचार्यको कथा, निर्देशन र निर्माणमा तयार भएको यो फिल्ममा प्रियंका कार्की, अनुभव रेग्मी मुख्य भूमिकामा छन् ।
फिल्मको एक गीतमा गायक राजेशपायल राइ पनि देखिएका छन् । नव कलाकारहरु पल शाह, बर्षा राउत र आँचललाई लिएर विकासले यसपटक फिल्म सकेका हुन् । विकासले फिल्मका मुख्य कलाकार प्रियंका र अुनभवले धेरै राम्रो काम गरेको बताए । पलसँग काम गर्न पनि खुबै सहज भएको विकासको भनाई छ ।
यस्तै, अभिनेत्री रेखा थापाले पनि फिल्म रामप्यारीको छायांकन बिहिबारबाट सकेकी छिन् । बिहिबार काठमाण्डौको बुढानिलकण्डस्थित मह स्टूडियोमा छायांकन गर्दै फिल्म सकाइएको हो । फिल्ममा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् । फिल्ममा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा छन् ।
रेखाले बनाएको नारीप्रधान फिल्मको निर्देशक सविर श्रेष्ठले गरेका हुन् । फिल्मको छायांकन करिब २५ दिनमा सकाइएको छ ।यो फिल्म पनि चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने पूर्व घोषणा गरिसकिएको छ । निर्माता छविराज ओझाले निर्माण गरिरहेको फिल्म किस्मत २ को भने छायांकन सकिएको छैन । यो फिल्म पनि चैत्र २६ मै चल्नेछ ।

