नेपाली रजतपटमा अभिनेत्रीहरूमा गायिका बन्ने लहर चलिरहेको छ । अभिनयसँगै उनीहरूले आफ्नो अर्को प्रतिभा गायनलाई पनि प्रस्तुत गरिरहेको पाईएको छ ।
अभिनेत्री रेखा थापा होस् या प्रियंका कार्की, कुशल अभिनयसँगै उनीहरूको गायनको पनि प्रशंशा भएको छ । अभिनयमा आफ्नो करियर बनाउँदै गरेकी अभिनेत्री अशिष्मा नकर्मी पनि गायक भएकी छिन् । उनले आफू अभिनित फिल्म 'अधकट्टी'को 'फिगर कोकाकोला' बोलको गीतलाई नेवारी भर्सनमा गाएर आफ्नो अर्को कला प्रस्तुत गरेकी हुन् ।
सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको 'अधकट्टी'को 'कोलाकोला' गीत चर्चित छ । थप चर्चा बटुल्न फिल्म युनिटले नेवारी भर्सनको गीत पनि रेकर्ड गराएको हो ।
बसन्त सापकोटाको संगीत रहेको प्रस्तुत गीतलाई बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अनुवाद गरेका हुन् । गायनमा अशिष्मालाई मदनकृष्णकै छोरा यमन श्रेष्ठले साथ दिएका छन् । यो फिल्म दसैंंको अवसर पारेर कार्तिक ३ गते रिलिज हुँदैछ ।

